तरुण खबर
३१ आश्विन २०८२, शुक्रबार १०:३३
काठमाडाैं, ३१ असाेज । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले नेपालको प्राकृतिक सुन्दरता र समृद्ध सांस्कृतिक सम्पदालाई उजागर गर्दै अन्तर्राष्ट्रिय समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन्।
वासिङ्टन डिसीमा विश्व बैंक समूहद्वारा आयोजित “दिगो पर्यटन: रोजगारी, जीविकोपार्जन र आर्थिक विकासका लागि” शीर्षकको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
बिहीबार आयोजित उक्त कार्यक्रममा मन्त्री खनालले नेपालको विविध पर्यटकीय सम्भावना र अद्वितीय आकर्षणहरू माथि प्रकाश पारे। उनले आर्थिक विकासको संवाहकको रूपमा दिगो पर्यटन प्रवर्द्धन गर्ने नेपालको प्रतिबद्धतालाई समेत जोड दिए।
अर्थमन्त्री खनालले नेपाल आउने आगन्तुकहरूलाई न्यानो आतिथ्यता र विश्वस्तरीय सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे। उनले पर्यटकहरूको अनुभवलाई यादगार बनाउन सरकार गुणस्तरीय सेवा दिन कटिबद्ध रहेको आश्वासन पनि दिए।
सो छलफल कार्यक्रममा विभिन्न देश र अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। यसले विश्वव्यापी रूपमा पर्यटनले समावेशी वृद्धि र रोजगारी सिर्जनामा कसरी योगदान पुर्याउन सक्छ भन्ने विषयमा चर्चा गरेको थियो।


