तरुण खबर
३१ आश्विन २०८२, शुक्रबार १०:४१
काठमाडाैं, ३१ असाेज । ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एशिया प्यासिफिक छनोट प्रतियोगितामा नेपाल आज (शुक्रबार) उपाधिका लागि सामोआसँग खेल्दैछ। विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीलाई अब अपराजित रहँदै प्रतियोगिताको च्याम्पियन बन्ने अवसर प्राप्त भएको छ।
भारत र श्रीलंकामा २०२६ मा हुने टी-२० विश्वकपका लागि दुई खेलअगावै छनोट भइसकेको नेपालले बुधबार घरेलु टोली ओमानलाई ३८ रनले पराजित गरेपछि उपाधि जित्ने सम्भावना बलियो बनेको हो।
सुपर सिक्सको अंक तालिकामा हाल नेपाल ८ अंकसहित शीर्ष स्थानमा रहेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) र ओमान समान ६-६ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। यूएईले सबै खेल खेलिसकेको छ भने ओमानले आज जापानसँग आफ्नो अन्तिम खेल खेल्दैछ।
नेपालले आज सामोआलाई हराएमा अपराजित यात्रा कायम राख्दै विश्वकप छनोट प्रतियोगिताको उपाधि जित्नेछ। सामोआ भने सुपर सिक्समा अंकविहीन छ र प्रतियोगिताबाट बाहिरिसकेको छ।
यूएईविरुद्धको एक रनको रोमाञ्चक जितसँगै विश्वकपको यात्रा तय भएकोमा खुशी व्यक्त गर्दै कप्तान रोहित पौडेलले अबको लक्ष्य च्याम्पियन बन्ने रहेको बताएका छन्। नेपालले तेस्रो पटक टी-२० विश्वकप खेल्न लागेको हो।
नेपाल र सामोआबीचको यो ‘फाइनल सरह’को खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार आज दिउँसो सवा ४ बजेदेखि सुरु हुनेछ। सुपर सिक्सबाट नेपाल, ओमान र यूएईले विश्वकपमा आफ्नो स्थान पक्का गरिसकेका छन् भने जापान, कतार र सामोआ भने बाहिरिएका छन्।2


