तरुण खबर
४ कार्तिक २०८२, मंगलवार ११:५९
काठमाडाैं, ४ कार्तिक । यमपञ्चकको तेस्रो दिन आज गाई तिहार मनाइँदैछ। सोमबार दिउँसोबाट सुरु भएको औँशी तिथि मंगलबार दिउँसोसम्म कायम रहने भएकाले लक्ष्मीपूजा हिजै सोमबार गरेर गाई तिहार आज मनाइएको हो।
हिन्दू धर्ममा गाईलाई माता महालक्ष्मीको प्रतीक र तेत्तिसकोटी देवी-देवताको बास हुने मानेर पूजा गरिन्छ। गाउँघरमा विशेष उल्लासका साथ गाई पूजा गरिन्छ भने शहर बजारमा मानिसहरू गाई पालेका किसानको गोठ तथा गौशालामा पुगेर पूजा गर्छन्।
गाई पूजाको महत्व र विधि
गाई, गोबर र गहुँत (गौमुत्र) लाई हिन्दू धर्ममा अत्यन्त पवित्र मानिन्छ। कुनै पनि धार्मिक तथा पितृ कार्यमा पूजास्थल शुद्ध गर्न गोबरले लिप्ने, देवी-देवताको पूजामा गाईको दूधबाट बनेको पञ्चामृत अनिवार्य प्रयोग गर्ने तथा शुद्ध हुन गहुँत छर्किने वा खाने चलन छ।
दियो, कलश र लक्ष्मीपूजाको तयारी
गाई पूजा गर्दा नै दियो, कलश र गणेश स्थापना गरी पूजा गर्ने पुरानो चलन छ। गाईको पूजा सकिएपछि यी स्थापित सामग्रीहरू घरको मूल थामको वरिपरि राखिन्छ।
हिजै (औँशीको रात) साँझ जुठो चोख्याएर घर पोतिएपछि मध्यरातमा लक्ष्मी पूजा गर्ने चलन छ। शाक्त परम्परामा महालक्ष्मीको आराधना मध्यरातमा गरिन्छ। यसै दिन द्यौसी, भैलो खेल्ने टोलीहरू आउँछन् भने गाउँघरमा रातभर जाग्राम बसी सेलरोटी पकाउने र हरिकीर्तन गर्ने चलन रहेको छ।


