श्रम शोषणविरुद्ध नर्सको आन्दोलन घोषणा: कालोपट्टी बाँधेर काम, केही सेवा २ घण्टा ठप्प हुने

श्रम शोषणविरुद्ध नर्सको आन्दोलन घोषणा: कालोपट्टी बाँधेर काम, केही सेवा २ घण्टा ठप्प हुने तरुण खबर ४ कार्तिक २०८२, मंगलवार १२:०५
श्रम शोषणविरुद्ध नर्सको आन्दोलन घोषणा: कालोपट्टी बाँधेर काम, केही सेवा २ घण्टा ठप्प हुने

काठमाडाैं, ४ कार्तिक । निजी अस्पताल र मेडिकल कलेजहरूमा कम तलब र चरम श्रम शोषणको विरोधमा नेपाल नर्सिङ संघ (NNA) ले देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। संघकी केन्द्रीय अध्यक्ष चन्द्रकला शर्माले सोमबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै विरोधका चरणबद्ध कार्यक्रमहरू सार्वजनिक गरेकी हुन्।

नर्सहरूलाई श्रम ऐनअनुसार तोकिएको न्यूनतम पारिश्रमिकभन्दा पनि कम तलब दिएर शोषण गरिएको भन्दै उनीहरूले स्वास्थ्य सेवा ऐन अनुसार तलब र सुविधा पाउनुपर्ने माग राखेका छन्।

आन्दोलनका घोषित कार्यक्रमहरू:

  1. कालोपट्टी बाँधेर काम: असोज २१ गतेदेखि असोज २८ गतेसम्म देशका सबै अस्पताल र स्वास्थ्य शैक्षिक संस्थाहरूमा नर्सहरूले कालोपट्टी बाँधेर ड्युटी गर्नेछन्।
  2. २ घण्टा सेवा बन्द: असोज २९ गतेदेखि कात्तिक ४ गतेसम्म दैनिक बिहान १० बजेदेखि १२ बजेसम्म (२ घण्टा) आकस्मिक सेवाबाहेकका अन्य नर्सिङ सेवाहरू ठप्प पारिनेछन्।

अध्यक्ष शर्माले नर्सहरूले गर्ने कामको उचित पारिश्रमिक र सुविधा पाउनुपर्ने भन्दै आफ्ना हक अधिकार सुनिश्चित गर्न संघ आन्दोलनमा उत्रिएको स्पष्ट पारिन्। उनले नर्सहरूलाई श्रम ऐनभन्दा पनि स्वास्थ्य सेवा ऐन अन्तर्गत रहेर तलब र सुविधा दिनुपर्नेमा जोड दिइन्।

उनले आन्दोलनका थप कार्यक्रमहरू कात्तिक ४ गतेपछि स्वास्थ्य मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदनका आधारमा घोषणा गरिने जानकारी पनि दिइन्।

पत्रकार सम्मेलनमा संघले जारी गरेको विज्ञप्तिमा आन्दोलनका कारण आम नागरिकको स्वास्थ्य सेवामा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ।