तरुण खबर
४ कार्तिक २०८२, मंगलवार १२:१६
काठमाडाैं, ४ कार्तिक । उज्यालो, फूल र रङ्गहरूको पर्व तिहार नेपालको अर्थतन्त्र चलायमान बनाउने दोस्रो ठूलो चाड बनेको छ। धनकी देवी लक्ष्मीको पूजा गरिने यो पर्वले धार्मिक आस्थासँगै ठूलो आर्थिक महत्व राखेको छ।
यस वर्ष तिहारका लागि मात्रै २ अर्ब ५० करोड रुपैयाँ बराबरको भाइ मसाला (ड्राइ फ्रुट्स) को कारोबार हुने अनुमान गरिएको छ, जसले अर्थतन्त्रलाई गति दिन महत्त्वपूर्ण भूमिका खेलेको छ।
भाइ मसालामा अर्बौं खर्च:
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन मध्यदेखि भदौ मध्यसम्म) मा मात्रै २ अर्ब ४५ करोड रुपैयाँ बराबरको ड्राइ फ्रुट्स आयात भएको छ।
यस अवधिमा सुपारी (Areca Nuts) को आयात मात्रै रु १ अर्ब ४ करोड बराबरको रहेको छ, जसमध्ये केही सुपारी नेपालले पुनः निर्यात (Re-export) समेत गर्ने गरेको भन्सारको तथ्याङ्कले देखाएको छ।
फूलको कारोबार रु ४५ करोड नजिक, आत्मनिर्भरता ९० प्रतिशत:
तिहारमा सबैभन्दा बढी माग हुने सयपत्री, गोदावरी र मखमली फूलको कारोबार यस वर्ष ४० करोड रुपैयाँ भन्दा बढी हुने पुष्प व्यवसायीले अनुमान गरेका छन्।
६५ करोडको झिलिमिली, विद्युत खपत कीर्तिमानी:
तिहारलाई लक्षित गरी यस वर्ष झिलिमिली बत्ती (Decoration Lights) ६५ करोड रुपैयाँ बराबरको आयात भएको नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेशमप्रसाद देवकोटाले बताए। आयात भएकामध्ये ९० प्रतिशतभन्दा बढी बत्ती चीनबाट आएका छन्।
सुनको असर्फी रोकियो, चाँदीको सिक्का बिक्री:
तिहारमा सुनचाँदीको कारोबार पनि उल्लेख्य रूपमा बढ्छ। नेपाल राष्ट्र बैंकले यस वर्ष सुनको असर्फी (सिक्का) निष्कासन नगरे पनि लक्ष्मी, गणेश, गजलक्ष्मी र गाईको चित्र अंकित चाँदीका सिक्का बिक्री गरेको छ।
ड्राइ फ्रुट्स, फूल, र बत्तीबाहेक, तिहारमा फलफूल र मिठाइको बिक्री पनि उच्च हुने गर्दछ भने यो पर्व सुनचाँदीको व्यापारका लागि पनि निकै व्यस्त समय हो।


