नेपाली नोटमा ‘नेपाल संवत्’ उल्लेख गरिने : प्रधानमन्त्रि कार्की

नेपाली नोटमा ‘नेपाल संवत्’ उल्लेख गरिने : प्रधानमन्त्रि कार्की तरुण खबर ५ कार्तिक २०८२, बुधबार १९:२३
नेपाली नोटमा ‘नेपाल संवत्’ उल्लेख गरिने : प्रधानमन्त्रि कार्की

काठमाडाैं, ५ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली राष्ट्रिय मुद्रा (बैंक नोट) मा नेपालको मौलिक संवत् ‘नेपाल संवत्’ लाई समावेश गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

बुधबार राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपाल राष्ट्र बैंकसँग तत्काल परामर्श गरी राष्ट्रिय नोटमा नेपाल संवत् उल्लेख गर्ने प्रक्रिया अघि बढाउने बताइन्। उनले सरकारी कागजातमा पनि यस संवत्को कार्यान्वयन र प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्।

शङ्खधर साख्वा: लोकहितकारी व्यापारी

प्रधानमन्त्री कार्कीले नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाः को योगदानको उच्च प्रशंसा गरिन्। उनले साख्वालाई मुनाफामा मात्र केन्द्रित नभई सार्वजनिक कल्याणमा समर्पित एक परोपकारी व्यापारी, दूरदर्शी समाज सुधारक र मानवतावादी भन्दै गरिब तथा विपन्न वर्गको उत्थान गरेको बताएकी छन्।

त्यागबाट सुरु भएको संवत्

प्रधानमन्त्री कार्कीले नेपाल संवत्को ऐतिहासिक पृष्ठभूमिको स्मरण गर्दै यो पात्रोको उत्पत्ति राजाको शक्ति वा सैन्य विजयबाट नभई एक व्यापारीको उदारता र त्याग बाट भएकोले यसको नैतिक र सांस्कृतिक महत्त्व अद्वितीय रहेको स्पष्ट पारिन्।

करिब ११४६ वर्षअघि राजा राघवदेवको शासनकालमा शङ्खधर साख्वाः ले ऋणमा डुबेका नागरिकको ऋणमोचन गरी गरिबीबाट मुक्त गर्ने ऐतिहासिक कार्य गरेको र सोही दिनदेखि नेपाल संवत् प्रारम्भ भएको उनले बताइन्। कान्तिपुर र भक्तपुरबाट सुरु भए पनि नेपाल संवत्ले राष्ट्रको मौलिक पात्रो प्रणालीको प्रतिनिधित्व गर्ने उनको भनाइ थियो।