तरुण खबर
५ कार्तिक २०८२, बुधबार १९:२७
काठमाडाैं, ५ कार्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) का महानिर्देशक प्रदीप अधिकारीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेका कोकिल शाही, रामेछापका सिर्जन अधिकारी र सर्लाहीका हेम तामाङ रहेका छन्।
पक्राउ र अनुसन्धान
ललितपुर प्रहरी परिसरका एसएसपी होबिन्द्र बोगटीका अनुसार, तामाङलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले मङ्गलबार साँझ एकान्तकुनाबाट नियन्त्रणमा लिएको थियो। यस्तै, अधिकारी र शाहीलाई भने काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको संयुक्त टोलीले सातदोबाटो क्षेत्रबाट पक्राउ गरेको हो।
एसएसपी बोगटीले महानिर्देशक अधिकारीलाई दुर्व्यवहार गरेको आरोपमा तीनै जनालाई ललितपुर प्रहरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीले तामाङले चलाएको बा ९० प १६१३ नम्बरको स्कुटरसमेत नियन्त्रणमा लिएको छ।
घटना विवरण
उक्त घटना यही असोज १९ गते (अक्टोबर १९) साँझ भएको थियो। महानिर्देशक अधिकारी ललितपुरको सातदोबाटो नजिकै पैदल हिँडिरहेको बेला स्कुटरमा आएका व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरी फरार भएका थिए।
घटनालगत्तै प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा अनुसन्धान अघि बढाएको थियो। “सीसीटीभी फुटेजको मद्दतले उनीहरूको हुलिया पहिचान गरी अपराध अनुसन्धान कार्यालय र हाम्रो युनिटको संयुक्त टोलीले पक्राउ गरेको हो,” एसएसपी बोगटीले बताए।


