मार्फा-चिमाङ सडक: तत्काल काम रोकियो, बहुवर्षीय योजनाको पर्खाइ

मार्फा-चिमाङ सडक: तत्काल काम रोकियो, बहुवर्षीय योजनाको पर्खाइ तरुण खबर ७ कार्तिक २०८२, शुक्रबार १०:०२
मार्फा-चिमाङ सडक: तत्काल काम रोकियो, बहुवर्षीय योजनाको पर्खाइ

काठमाडाैं, ७ कार्तिक । गण्डकी प्रदेश सरकारले घरपझोङ गाउँपालिका अन्तर्गतको मार्फा-छैरो-चिमाङ सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरे पनि तत्काल काम सुरु नहुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गण्डकी प्रदेशले यस सडक खण्डको सुधारका लागि चालू आर्थिक वर्ष २०८२/८३ मा रु. १ करोड बजेट छुट्याएको छ।

तर, मुस्ताङस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख अजय कुमार श्रेष्ठका अनुसार, मार्फा-छैरो पुल हुँदै चिमाङसम्मको सडकलाई बहुवर्षीय योजनाका रूपमा विकास गर्ने तयारी रहेकाले अहिलेको स्तरोन्नतिको काम रोकिएको छ।

बनी-जोमसोम सडकको ७६ किलोमिटर क्षेत्र पार गरेपछिको मार्फाभन्दा माथिको छैरो र चिमाङ गाउँ जोड्ने यस सडकलाई थप सुधार र आवश्यक खण्डमा कालोपत्रे गर्ने गरी बहुवर्षीय योजनामा समावेश गर्न लागिएको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख श्रेष्ठले भने, “हामीले अहिले यहाँ सडक कार्यान्वयनको काम रोकेका छौँ। यदि यसलाई बहुवर्षीय कार्यक्रमका रूपमा अगाडि बढाउने निर्देशन आयो भने कार्यालय सोही अनुसार अघि बढ्नेछ।” यसको अर्थ तत्कालको लागि छुट्याइएको बजेटबाट छैरो-चिमाङ खण्डको स्तरोन्नति हुन सकेको छैन।

बहुवर्षीय योजना स्वीकृत भएमा माटोको बाटोलाई स्तरोन्नति गर्दै आवश्यक ठाउँमा पक्की सडक निर्माणमा जोड दिइने श्रेष्ठले बताए।