राहुल गान्धीको ‘जेन जेड’ समर्थनले भारतमा खैलाबैला: लद्दाख आन्दोलनमा नेपाली विद्रोहको झल्को

राहुल गान्धीको ‘जेन जेड’ समर्थनले भारतमा खैलाबैला: लद्दाख आन्दोलनमा नेपाली विद्रोहको झल्को तरुण खबर ७ कार्तिक २०८२, शुक्रबार १०:२८
राहुल गान्धीको ‘जेन जेड’ समर्थनले भारतमा खैलाबैला: लद्दाख आन्दोलनमा नेपाली विद्रोहको झल्को

काठमाडाैं, ७ कार्तिक । नेपालमा युवाहरूले सुरु गरेको ‘जेन जेड’ (Gen Z) विद्रोहको राप भारतसम्म पुग्दा प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी विवादमा तानिएका छन्। नेपालको आन्दोलनको सन्दर्भ जोड्दै राहुलले सामाजिक सञ्जाल ‘एक्स’ मा दिएको अभिव्यक्ति र त्यसपछि भारत प्रशासित लद्दाखमा भएको हिंसात्मक प्रदर्शनलाई लिएर सत्तारुढ भारतीय जनता पार्टी (BJP) का नेताहरूले कडा प्रतिक्रिया जनाएका छन्।

राहुलको पोस्ट र बीजेपीको आक्रामक प्रतिक्रिया:

सेप्टेम्बर १८ मा राहुल गान्धीले ‘एक्स’ मा लेखेका थिए, “देशका युवा, देशका विद्यार्थी, देशका जेन जेडले संविधान जोगाउँछन्, लोकतन्त्रको रक्षा गर्छन् र भोट चोरी रोक्छन्। म सधैँ उनीहरूसँग छु।” यस पोस्टलाई नेपालको जेन जेड आन्दोलनसँग जोडेर हेरिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी, बीजेपी अध्यक्ष जेपी नड्डा, र मन्त्रीहरू रविशंकर प्रसाद र गिरिराज सिंह लगायतले राहुलको उक्त पोस्टको कडा आलोचना गरेका छन्। यसअघि कंग्रेसले निर्वाचनमा आफ्नो हारको कारण EVM बाट भएको ‘भोट चोरी’ लाई बताउँदै आएको छ। दिल्ली विश्वविद्यालयमा विद्यार्थी युनियनको चुनाव चलिरहेका बेला राहुलले जेन जेडलाई भोट चोरीको मुद्दा उठाउन आग्रह गरेका थिए।

लद्दाख आन्दोलनमा जेन जेडको प्रभाव:

राहुलको पोस्टको छ दिन पनि नबित्दै भारतको रणनीतिक रूपमा महत्वपूर्ण मानिने लद्दाखमा ठूलो आन्दोलन भयो। उक्त प्रदर्शनका क्रममा एकै दिन चार जनाको ज्यान गयो। यो आन्दोलन लद्दाखका प्रख्यात वातावरण अभियन्ता सोनाम वाङचुकको नेतृत्वमा भएको थियो, जो अहिले पक्राउ परेर जेलमा छन्। उनी सम्बद्ध संस्था र कम्पनीहरूमाथि वित्तीय अनियमितताको आरोप लागेको छ।

आलोचकहरू राहुलको एक पोस्टलगत्तै लद्दाखमा भएको ठूलो प्रदर्शनलाई केवल संयोग मान्न तयार छैनन्। लद्दाखको यो बढ्दो विरोधलाई नेपालको जेन जेड आन्दोलनसँग जोडेर हेरिएको छ, जसले भारतीय राजनीतिमा तरंग ल्याएको छ।

एशियामा बढ्दो ‘जेन जेड’ लहर:

नेपालको भदौ २३ र २४ गते (सेप्टेम्बर ८ र ९) को जेन जेड आन्दोलन र त्यसलगत्तै भारतको संवेदनशील क्षेत्र लद्दाखमा भएको घटनाले भारतीय राजनीतिलाई हल्लाएको छ। लद्दाखसँगै मुस्लिम समुदायले सामाजिक सञ्जालमा चलाएको ‘आई लभ मोहम्मद’ अभियानले पनि भारतीय राजनीतिमा असर पारिरहेको छ।

इन्डोनेसिया, फिलिपिन्स, जापान, श्रीलंका, बङ्गलादेश, नेपाल हुँदै फ्रान्ससम्म जेन जेड विद्रोहको लहर फैलिएकोमा ५५ वर्षीय राहुल गान्धी उत्साहित छन्। आफ्नो सत्तामा पुनरागमनका लागि उनले अहिले जेन जेडलाई नै एकमात्र आधारका रूपमा हेरेका छन्।

राहुलको ‘एक्स’ मा २ करोड ८० लाखभन्दा बढी फलोअर्स छन्। उनको पोस्टको जवाफमा हिमाचलबाट निर्वाचित बीजेपी सांसद तथा अभिनेत्री कंगना रनौतले “विश्वमा के भइरहेको छ भन्ने कारण पनि उनलाई थाहा छैन” भन्दै व्यंग्य गरेकी थिइन्। तर, उनको राज्य हिमाचलको छिमेकी लद्दाखमा भने जेन जेडले छुट्टै राज्यको माग गर्दै सडकमा आन्दोलन गरिसकेका छन्।

सन् १९८० को दशकदेखि सन् २००० को पहिलो दशकसम्म नेपाली राजनीतिमा भारतीय राष्ट्रिय कंग्रेसको ठूलो प्रभाव थियो। यद्यपि, ८० र ९० को दशकमा गान्धी परिवारले भारतमा निर्विवाद शासन गरे पनि राहुलले अहिलेसम्म सत्ताको स्वाद चाख्न पाएका छैनन्। यस्तो अवस्थामा नेपाली जेन जेड विद्रोहबाट हौसिएका राहुलले यसलाई भारतमा कंग्रेसको पुनरागमनको आधार बनाउन सक्लान्? भारतीय राजनीतिक वृत्तमा यो प्रश्नले निकै महत्व पाएको छ।