नेपाली कम्पनीको विश्वमञ्चमा छलाङ: फ्युजमेसिन्स नास्डैकमा सूचीकृत

नेपाली कम्पनीको विश्वमञ्चमा छलाङ: फ्युजमेसिन्स नास्डैकमा सूचीकृत तरुण खबर ७ कार्तिक २०८२, शुक्रबार १०:५५
नेपाली कम्पनीको विश्वमञ्चमा छलाङ: फ्युजमेसिन्स नास्डैकमा सूचीकृत

काठमाडाैं, ७ कार्तिक । नेपाली उद्यमीद्वारा स्थापित सूचना प्रविधि कम्पनी ‘फ्युजमेसिन्स’ (Fusemachines) बिहीबारदेखि संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित नास्डैक (Nasdaq) स्टक एक्सचेन्जमा कारोबार सुरु गरेको छ।

नेपाली उद्यमी डा. समीर मास्केले स्थापना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (AI) मा विशेषज्ञता हासिल गरेको यो कम्पनी दुई वर्षअघिको मर्जरपश्चात् ‘Fuse’ नामबाट कारोबारमा आएको हो।

न्यूयोर्कको समयअनुसार बिहान ९:३० बजे नास्डैक स्टक एक्सचेन्ज खुल्ने बित्तिकै कम्पनीको सेयर कारोबार सुरु भएको थियो।

कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (CEO) डा. मास्केले यो ऐतिहासिक उपलब्धिका लागि योगदान गर्ने सम्पूर्ण कर्मचारी र उत्प्रेरित गर्ने सबैलाई कृतज्ञता व्यक्त गरेका छन्। उनले भने, “सानाे टाेलीबाट हामीलाई यो कोशेढुङ्गासम्म पुर्‍याउने नवीन विचार र अवधारणाहरूले नै हामीलाई भविष्यमा अझै विस्तार गर्न प्रेरणा दिनेछन्। विश्वका प्रमुख वित्तीय उपकरणहरूको कारोबार हुने मञ्चमा सूचीकृत हुनु एक उल्लेखनीय उपलब्धि हो।”

बुधबार नै नास्डैकले CSLM Acquisition Company र Fusemachines Inc. बीचको साझेदारीलाई अन्तिम रूप दिइएको र बिहीबारदेखि नास्डैक क्यापिटल मार्केटमा कारोबार सुरु गर्न अनुमति दिइएको घोषणा गरेको थियो।

यो सूचीकरणले नेपाली मूलको कम्पनीले विश्व बजारमा प्रवेश गरेको र लगानीकर्ताका लागि नयाँ अवसर सिर्जना गरेको छ। मर्जरपश्चात् कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा डा. समीर मास्के र प्रमुख वित्तीय अधिकारीमा क्रिस्टिन चेम्बर्स नियुक्त भएका छन्। सञ्चालक समितिमा समीर मास्के, भरत क्रिश, टिम गोचर, सञ्जय श्रेष्ठ र सलमान आलम रहेका छन्।

हाल यो कम्पनीमा ३५० जनाले रोजगारी पाएका छन्, जसमध्ये २६० जना नेपालस्थित कार्यालयमा कार्यरत छन्।