सिक्किम अदालतको आदेश: लोप हुन लागेका नेपाली अक्षर ब्युँताइने

सिक्किम अदालतको आदेश: लोप हुन लागेका नेपाली अक्षर ब्युँताइने तरुण खबर ७ कार्तिक २०८२, शुक्रबार ११:४२
सिक्किम अदालतको आदेश: लोप हुन लागेका नेपाली अक्षर ब्युँताइने

काठमाडाैं, ७ कार्तिक । भारतको सिक्किम उच्च अदालतले नेपाली भाषाको मौलिक शुद्धता र पहिचानका लागि महत्वपूर्ण आदेश जारी गरेको छ। अदालतले हाल प्रयोगमा आउन छाडेका नेपाली वर्णमालाका केही अक्षरहरूलाई पाठ्यक्रम र लेखनमा अनिवार्य प्रयोग गर्न आदेश दिएको हो।

मुख्य न्यायाधीश विश्वनाथ सोमाद्दार र न्यायाधीश मीनाक्षी मदन राईको संयुक्त इजलासले नेपाली वर्णमालाबाट हराउँदै गएका ‘ण’, ‘श’, ‘ष’, ‘ड’, ‘ढ’, ‘क्ष’, ‘त्र’, ‘ज्ञ’, ‘ऋ’ लगायतका अक्षरहरूलाई मौलिक पहिचानसहित फर्काउन र त्यसको प्रयोग अनिवार्य गर्न आदेश दिएको छ।

निवृत्त नेपाली भाषाका शिक्षक तथा साहित्यकार धनराज गुरुङले सिक्किम विश्वविद्यालय, शिक्षा विभाग र सिक्किम राज्य सरकारसमेतलाई विपक्षी बनाएर २०८२ साउन २३ गते (७ अगस्त २०२५) मा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले यस्तो आदेश दिएको हो। अक्षरहरू हटाइँदा भाषिक शुद्धतामा असर परेको भन्दै गुरुङले यी अक्षरहरूको प्रयोग अनिवार्य गर्न माग गरेका थिए।

अदालतको आदेश र कारण:

उच्च अदालतले आफ्नो आदेशमा भनेको छ, “नेपाली वर्णमालाको संरक्षण गर्न जरुरी छ। किनभने भाषा केवल सम्वादको रूपमा मात्र होइन, बरु पहिचान र संस्कृतिको आधार पनि हो।”

आदेशमा लेख्न र पढ्न छाडिएका ती अक्षरहरू तत्काल प्रयोगमा ल्याउन तथा त्यसको सही प्रयोग किताब र पाठ्यक्रमहरूमा सुनिश्चित गर्न भनिएको छ।

विज्ञ समिति गठनको आदेश:

उच्च अदालतले आदेश कार्यान्वयनका लागि नेपाली भाषाविज्ञसहितको ६ सदस्यीय कमिटी पनि गठन गर्न निर्देशन दिएको छ। सोही अनुसार समितिमा सिक्किम एकाडेमीका अध्यक्ष शुक्र सुब्बा, नेपाली लोक साहित्य लेखक चन्द्रप्रकाश शर्मा, साहित्य एकाडेमी नयाँदिल्लीका शंकरदेव प्रसाद ढकाल, एनबीबी डिग्री कलेजका एसिस्टेन्ट प्रोफेसर टेकबहादुर क्षेत्री, साहित्य एकाडेमी अवार्ड विजेता लेखक युवा बराल र सिक्किम विश्वविद्यालयको नेपाली भाषा डिपार्टमेन्ट प्रमुख प्रोफेसर डा. कविता लामा छन्।

यस कमिटीलाई सबै शिक्षण संस्थामा अदालतको आदेश कार्यान्वयन गराउने जिम्मेवारी दिइएको छ। साथै, कुनै संस्था वा लेखकले यी अक्षरहरूलाई बेवास्ता गरेमा तिनका किताब शिक्षण संस्थामा स्वीकार नगर्न समेत भनिएको छ।

अदालतले लेखनमा हुने सानो त्रुटिले पनि नेपाली भाषाको शुद्धतामा असर गर्ने भएकाले नयाँ पुस्ताका लागि यो आदेशको सही कार्यान्वयन अपरिहार्य रहेको जनाएको छ।

यस आदेशलाई केहीले नेपाली भाषीको ऐतिहासिक जितका रूपमा लिएका छन् भने केहीले यसले आधुनिक नेपाली भाषा पढाइको अधिकारमाथि रोक लगाएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन्। परम्परागत रूपमा प्रयोग हुँदै आएका ‘ण’को सट्टा ‘न’, तालव्य ‘श’को सट्टा दन्त्य ‘स’ र ‘ऋ’को सट्टा ‘रि’ लेख्ने चलन आधुनिक शैलीका रूपमा आएको थियो।