युलेन्स एजुकेशन फाउन्डेशन : महँगो शुल्क, भारी कारोबार, आरजुको बहिर्गमन र ‘जेनजी आन्दोलन’को चोट

युलेन्स एजुकेशन फाउन्डेशन : महँगो शुल्क, भारी कारोबार, आरजुको बहिर्गमन र ‘जेनजी आन्दोलन’को चोट तरुण खबर ८ कार्तिक २०८२, शनिबार ११:२३
युलेन्स एजुकेशन फाउन्डेशन : महँगो शुल्क, भारी कारोबार, आरजुको बहिर्गमन र ‘जेनजी आन्दोलन’को चोट

काठमाडाैं, ८ कार्तिक । नेपालका उच्चस्तरीय निजी शिक्षण संस्थामध्ये अग्रस्थानमा रहेको युलेन्स एजुकेशन फाउन्डेशन पछिल्लो समय विविध कारणले चर्चा र विवादको केन्द्रमा रहँदै आएको छ। सन् २००६ मा स्थापना भएको यो स्कुलले शिक्षा क्षेत्रमै महँगो शुल्क लिने संस्थाको छवि बनाएको छ, तर पछिल्लो कारोबार तथ्यांकले यसले आफ्नो व्यावसायिक उचाइ कायम राख्न सफल भएको देखाउँछ।

नेतृत्वमा परिवर्तन र प्रमुख कारोबार

नेपाली कांग्रेसकी नेतृ तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएसँगै युलेन्स नयाँ नेतृत्वमा प्रवेश गरेको छ। उनले काठमाडौं र ललितपुर दुवै शाखाबाट गत असोज ११ गते पदत्याग गरेकी थिइन्। उनको राजीनामापछि हाल सोमप्रसाद पेनेरु स्कुलको अध्यक्ष पदमा नियुक्त भएका छन्।

व्यावसायिक रूपमा युलेन्सको कारोबार प्रभावशाली देखिन्छ। स्कुलले गत आर्थिक वर्षमा मात्रै ७७ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो। अघिल्लो वर्षमा पनि ७६ करोड ५० लाख बढीको व्यापार गरेको र सन् २०२३ मा ७५ करोड ४० लाख कारोबार भएको केयर रेटिङ नेपालको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार पछिल्ला दुई वर्षमा स्कुलले ३२–३३ प्रतिशतसम्मको नाफा आर्जन गरेको दाबी गरिएको छ।

पछिल्लो आन्दोलन र ठूलो क्षति

गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा स्कुलमा भएको तोडफोड र आगजनीले युलेन्स थप चर्चामा आयो र ठूलो क्षति बेहोर्नुपर्‍यो। आन्दोलनकारीहरूद्वारा लगाइएको क्षतिले भौतिक संरचनामा मात्र नभई आर्थिक र व्यवस्थापन पक्षमा पनि असर पारेको छ। स्कुल प्रशासनका अनुसार स्कुलको क्यान्टिन, साइन्स ल्याब, आर्ट रुम, २० हजार पुस्तकसहितका तीनवटा पुस्तकालय, सभा हल र अन्य संरचनाहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

शैक्षिक र भौतिक विवरण

हाल युलेन्समा १ हजार २०० विद्यार्थी अध्ययनरत छन् भने १५० दक्ष शिक्षक र ३०० कर्मचारी कार्यरत छन्। स्कुलको काठमाडौंस्थित भवन ४० हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ। यसबाहेक, काभ्रेपलाञ्चोकको नालामा रहेको ‘लर्निङ सेन्टर’मा ७२ जना विद्यार्थी र ६ जना शिक्षक छन्।

क्षतिको बाबजुद स्कुल हाल बन्द अवस्थामा रहेको भए पनि व्यवस्थापनले पुन: सञ्चालनको तयारी गरिरहेको जनाएको छ।

कर्जा रेटिङमा जोखिम संकेत

उक्त घटनाको प्रत्यक्ष असर स्कुलको कर्जासम्बन्धी रेटिङमा पनि देखिएको छ। युलेन्सले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि कुल ६५ करोड रुपैयाँ बराबरको रेटिङ गराएको छ, जसमध्ये ६० करोड दीर्घकालीन र ५ करोड अल्पकालीन कर्जाका लागि हो। रेटिङमा ‘प्लेस्ड विथ क्रेडिट वाच विथ नेगेटिभ इप्लिकेशन’ उल्लेख छ, जसले भविष्यमा जोखिम बढ्ने संकेत गर्दछ।

यसरी एकातर्फ उच्च कारोबार र शैक्षिक उचाइ कायम राखेको युलेन्स एजुकेशन फाउन्डेशन पछिल्लो नेतृत्व परिवर्तन र आन्दोलनले भएको भौतिक तथा आर्थिक क्षतिका कारण चुनौतीको घेरामा परेको छ।