तरुण खबर
८ कार्तिक २०८२, शनिबार ११:२८
काठमाडाैं, ८ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले हायात होटलको सेवा निलम्बन गरिएको र कर्मचारीलाई प्रवेशमा रोक लगाइएको सूचनाप्रति गम्भीर चासो व्यक्त गरेकी छन्। यस विषयमा गहिरो चासो जनाउँदै उनले तत्काल स्थिति बुझ्न र आवश्यक पहल गर्न निर्देशन दिएकी थिइन्।
प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आज (शनिबार) बिहानै हायात रिजेन्सी व्यवस्थापनसँग कुराकानी गरी होटल बन्द हुनुको कारणबारे जानकारी लिएका थिए।
छलफलका क्रममा अर्थमन्त्री खनालले होटल व्यवस्थापनलाई ढुक्क रहन आग्रह गर्दै सरकारबाट सुरक्षाको पूर्ण प्रत्याभूति दिने आश्वासन दिएका छन्। उनले व्यवस्थापनलाई विचलित नभई तत्काल सेवा सुचारु गर्न आग्रह गरे।
अर्थमन्त्री खनालले भने, “तपाईँहरू आत्तिनुभएन। उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्। हामी साथमा छौँ। सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ। कत्ति पनि विचलित नभई आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस्।”
सरकारले यस विषयमा थप छलफलका लागि होटल व्यवस्थापनलाई आइतबार बोलाएको छ। छलफलबाट सेवा सुचारु गर्न आवश्यक थप उपायहरू अपनाइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
स्मरण रहोस्, केही समयअघि भएको ‘जेनजी आन्दोलन’का क्रममा भएको तोडफोड र आगजनीका कारण ठूलो क्षति भएपछि हायात रिजेन्सीले होटलको सेवा बन्द गरी कर्मचारीलाई प्रवेशमा रोक लगाएको सूचना जारी गरेको थियो। यसरी एक प्रमुख पाँचतारे होटलको सेवा अवरुद्ध हुँदा पर्यटन र व्यावसायिक क्षेत्रमा नकारात्मक सन्देश गएको ठहर गर्दै सरकारले तुरुन्तै चासो लिएको हो।


