तरुण खबर
८ कार्तिक २०८२, शनिबार ११:३५
काठमाडाैं, ८ कार्तिक । काठमाडौं महानगरपालिका (कामपा) ले ४५ वर्षभन्दा माथिका अनुभवी तथा परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई अधिकतम उपयोग गर्ने उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ। अवकाश वा व्यवसायबाट विश्राम लिएपछि पनि समाज र देशको विकासमा योगदान दिन चाहने नागरिकलाई अवसर प्रदान गर्न यो कार्यक्रम ल्याइएको महानगरले जनाएको छ।
महानगरको शहरी योजना आयोगको सचिवालय सदस्य विवेक बास्तोलाले यस कार्यक्रमबारे जानकारी दिँदै भन्नुभयो, “तपाईं ४५ वर्ष पूरा हुनुभएको छ? जागिर वा व्यवसायबाट अवकाश लिनुभएको छ? अवकाशपछि बिश्रामभन्दा पनि समाजका लागि केही योगदान गर्ने सोच छ भने आउनुहोस्— सँगसँगै महानगरको विकासमा हातेमालो गरौँ।”
कुन-कुन क्षेत्रमा स्वयंसेवा?
यो कार्यक्रममार्फत स्वयंसेवकहरूले शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, सहरी विकास, सम्पदा संरक्षणलगायतका क्षेत्रमा महानगरसँग सहकार्य गर्दै काम गर्न सक्नेछन्।
योग्यता र आवेदन प्रक्रिया
महानगरले ‘कामपा–सिल्भर–भोलिन्टियर–कार्यविधि’ बमोजिम योग्य नागरिकलाई अनलाइन लिङ्कमार्फत आवेदन दिन आह्वान गरेको छ।
कार्यक्रममा सहभागी हुनका लागि तोकिएका मुख्य योग्यताहरू:
महानगर कार्यालयका अनुसार, यो कार्यक्रमले एकातिर परिपक्व नागरिकको अनुभवलाई राष्ट्र निर्माणमा प्रयोग गर्न मद्दत पुर्याउनेछ भने अर्कातिर अनुभवी नागरिकलाई समाजसेवाको माध्यमबाट आत्मसन्तुष्टि र अवसर प्रदान गर्नेछ।
कार्यक्रमसम्बन्धी थप जानकारीका लागि इच्छुक व्यक्तिहरूले ९८४८०१८२१५ मा सम्पर्क गर्न सक्नेछन्।


