जेन-जी आन्दोलनमा लुटिएका हतियार खोज्न ‘सर्च अपरेसन’, होस्टल वार्डेन पक्राउ

जेन-जी आन्दोलनमा लुटिएका हतियार खोज्न ‘सर्च अपरेसन’, होस्टल वार्डेन पक्राउ तरुण खबर ११ कार्तिक २०८२, सोमबार ११:२९
जेन-जी आन्दोलनमा लुटिएका हतियार खोज्न ‘सर्च अपरेसन’, होस्टल वार्डेन पक्राउ

काठमाडाैं, १० कार्तिक । काठमाडौं उपत्यका प्रहरीले ‘जेन-जी आन्दोलन’ का क्रममा लुटिएका हतियार र सुरक्षा सामग्रीहरू बरामद गर्न आइतबारदेखि ‘सर्च अपरेसन’ (विशेष खोजी अभियान) सुरु गरेको छ। उपत्यका प्रहरी प्रमुख एआईजी दान बहादुर कार्कीका अनुसार यो अभियान लुटिएका हतियार र त्यसमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न संयुक्त र योजनाबद्ध ढंगले गरिएको सुरक्षा-संवेदनशील कार्य हो।

यसै क्रममा आइतबार काठमाडौंमा विभिन्न स्थानमा प्रहरीले खोजी गर्दा सफलता प्राप्त भएको छ। प्रहरीले काठमाडौं महानगरपालिका–३२ सुविधानगरस्थित सम्पदा ब्वाइज होस्टलको ‘ब्लक बी’ र वडा नम्बर ३१ प्रयाग मार्गस्थित ‘ब्लक ए’ मा छापा मारेको थियो।

‘ब्लक ए’ भित्रको स्टोर कोठाबाट लुकाइएका सामग्रीहरू बरामद गरिएको एआईजी कार्कीले जानकारी दिए। बरामद गरिएका सामग्रीहरूमा दुई थान हत्कडी, एउटा सशस्त्र प्रहरी बल (एपीएफ) को बडी प्रोटेक्टर (लाठीसहित), एउटा प्रहरीको बन्चरो (axe) र एउटा हार्ड डिस्क रहेका छन्।

यी सामग्रीहरू लुटपाट गरेको आरोपमा ‘ब्लक ए’ होस्टलका वार्डेन, धनुषाको जनकपुर उप-महानगरपालिका–७ का २४ वर्षीय गोविन्द कुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ।

यसैगरी, ललितपुरमा पनि प्रहरीले खोजी अभियानका क्रममा हतियार फेला पारेको छ। ललितपुरका डिभिजन प्रमुख एसएसपी होबिन्द्र बोगटीका अनुसार, महालक्ष्मी नगरपालिका–५, टिकाथलीको मोतीचोकमा एउटा बेवारिसे चिनियाँ हत्कडी भेटिएको थियो। टिकाथली प्रहरी चौकीबाट खटिएको टोलीले उक्त हत्कडी नियन्त्रणमा लिएको हो।

यसअघि आइतबार दिउँसो पनि टिकाथलीस्थित हनुमन्ते खोलाको किनारबाट एक थान चिनियाँ पेस्तोल, एउटा म्यागजीन र तीन राउन्ड गोली बरामद गरिएको थियो।

जेन-जी आन्दोलनको दोस्रो दिन उपत्यकाभरका प्रहरी युनिटहरूबाट ठूलो संख्यामा साना तथा ठूला हतियार र गोलीगट्ठा लुटपाट भएको रिपोर्ट गरिएको थियो। लुटिएका हतियारहरू फिर्ता गर्न गृह मन्त्रालयले मध्य असोजसम्मको समयसीमा दिएको थियो। सो समयसीमा गुज्रिएपछि मन्त्रालयले हतियार फिर्ता गर्न विशेष अपरेशन चलाउन प्रहरीलाई निर्देशन दिएको थियो।