तरुण खबर
११ कार्तिक २०८२, सोमबार ११:३८
काठमाडाैं, १० कार्तिक । नेपालको वैदेशिक व्यापारमा भटमास तेलको दबदबा कायमै रहेको छ। यो वस्तु नेपालको आफ्नो उत्पादन नभई बाहिरबाट आयात गरी सामान्य प्रशोधन र प्याकेजिङ गरेर निर्यात हुने भए तापनि आयात–निर्यात दुवैको शीर्ष स्थानमा रहँदै आएको छ।
चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो तीन महिनाको अवधिमा भटमास तेलको आयात र निर्यातमा अस्वाभाविक रूपमा ठूलो वृद्धि भएको देखिएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष भटमास तेलको आयात करिब ४.६ गुणा र निर्यात करिब ३२ गुणाले बढेको छ।
आयात र निर्यातको अवस्था:
तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३० अर्ब रुपैयाँभन्दा बढीको भटमास तेल आयात र सोही हाराहारीमा निर्यात भएको छ।
अस्वाभाविक वृद्धिको कारण:
जानकारहरूका अनुसार, छिमेकी मुलुक भारतमा भटमास तेलको माग ह्वात्तै बढेकाले नेपालबाट हुने निर्यातमा वृद्धि देखिएको हो। यद्यपि, उनीहरू यस खालको तीव्र वृद्धि दिगो नहुने विश्लेषण गर्छन्।
नेपालमा भटमास तेल उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पर्याप्त मात्रामा उत्पादन नहुने भएकाले व्यवसायीहरूले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, कतारजस्ता मुलुकबाट ठूलो परिमाणमा कच्चा भटमास तेल आयात गर्ने गरेका छन्। सो आयातित कच्चा तेललाई सामान्य प्रशोधन गरेर तयारी तेलका रूपमा भारततर्फ निर्यात गर्दा भटमास तेल आयातनिर्यात हुने वस्तुहरूको सूचीमा पहिलो नम्बरमा पर्न सफल भएको हो।


