तरुण खबर
११ कार्तिक २०८२, सोमबार १२:१६
काठमाडाैं, १० कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हुने बहुप्रतिक्षित भेटवार्ताअघि दुई देश सम्भावित व्यापार सम्झौताको फ्रेमवर्क (प्रारम्भिक मस्यौदा) मा सहमत भएका छन्। विश्वका दुई ठूला अर्थतन्त्रबीच लामो समयदेखि चल्दै आएको व्यापार युद्धलाई शान्तिपूर्ण समाधानतर्फ लैजाने प्रयासस्वरूप यो सहमति भएको हो।
आइतबार मलेसियाको क्वालालम्पुरमा भएको १३औं आसियान–अमेरिका सम्मेलनको साइडलाइनमा दुई देशका उच्च अधिकारीबीचको वार्ताबाट उक्त प्रारम्भिक फ्रेमवर्क तयार भएको हो। ट्रम्प र सीबीच बिहीबार दक्षिण कोरियामा प्रत्यक्ष वार्ता हुने तय भएको छ।
फ्रेमवर्कमा समावेश मुख्य बुँदाहरू (बीबीसीका अनुसार):
व्यापार युद्धको पृष्ठभूमि र समाधानको प्रयास:
राष्ट्रपति ट्रम्पले अमेरिकी उद्योग र रोजगारीलाई प्राथमिकता दिँदै चिनियाँ आयातमा उच्च शुल्क लगाउने नीति लिएपछि व्यापार युद्ध चर्केको थियो। यसैको प्रतिक्रियास्वरूप, चीनले दुर्लभ खनिजको निर्यात नियन्त्रण कडा गरेपछि ट्रम्पले १०० प्रतिशत अतिरिक्त शुल्क लगाउने घोषणा गरेका थिए।
तर, अहिले चीनले दुर्लभ खनिजसम्बन्धी प्रतिबन्ध एक वर्षका लागि स्थगित गरी पुनः समीक्षा गर्ने निर्णय गरेको छ। यी खनिजहरू स्मार्टफोनदेखि सौर्य प्यानलसम्मका हजारौँ उपकरण उत्पादनका लागि अत्यावश्यक मानिन्छन्।
सोयाबिन पनि दुई देशको व्यापारको प्रमुख मुद्दा हो। व्यापार युद्धका कारण चीनले अमेरिकी सोयाबिन खरिद रोक्दा अमेरिकी किसानहरूलाई ठूलो आर्थिक क्षति पुगेको थियो। प्रारम्भिक सहमतिको संकेतसँगै चीनले पुनः खरिद सुरु गर्ने बताएको छ, जसले किसानहरूलाई राहत दिने अपेक्षा गरिएको छ।
टिकटक सम्झौता अन्तिम चरणमा:
फ्रेमवर्कअन्तर्गत टिकटकको अमेरिकी शाखासम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको छ। अमेरिकाले राष्ट्रिय सुरक्षाका कारण टिकटकको अमेरिकी सञ्चालन अधिकार चिनियाँ कम्पनी बाइटडान्सबाट अलग गर्न खोज्दै आएको छ। ट्रम्प र सीले बिहीबारको भेटमा उक्त सम्झौतामा औपचारिक सहमति जनाउने तयारी रहेको छ।
यो फ्रेमवर्क सहमति विश्व अर्थतन्त्रका लागि आशाजनक संकेतका रूपमा हेरिएको छ, जसले व्यापार युद्धमा शान्तिपूर्ण मोड ल्याउन सक्नेछ।


