तरुण खबर
११ कार्तिक २०८२, सोमबार १२:२०
काठमाडाैं, १० कार्तिक । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले छठ पर्वले सामाजिक सद्भाव, भाइचारा र राष्ट्रिय एकता बढाउनुका साथै समृद्ध समाज निर्माणमा ठूलो योगदान पुर्याएको बताएका छन्।
छठ पर्वको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै खड्काले यो पर्वले एकताको भावना, अनुशासन, पारिवारिक मेलमिलाप र सामाजिक सद्भावलाई थप बलियो बनाउने उल्लेख गरे।
“नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो, र यहाँ मनाइने चाडपर्वहरूले हामी सबैलाई आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सूत्रमा बाँधेको छ। हाम्रा चाडपर्वहरूले सामाजिक सम्बन्धलाई बलियो बनाउन मात्र होइन, राष्ट्रिय पहिचान प्रवर्द्धन र समृद्ध राष्ट्र निर्माणमा समेत महत्त्वपूर्ण भूमिका खेलेका छन्,” उनले सन्देशमा भनेका छन्।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूमा शान्ति, सुख र समृद्धिको कामना गर्दै खड्काले छठ पर्वले सबैलाई सामाजिक सद्भाव र मेलमिलापमा योगदान पुर्याउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।


