स्वस्तिक फ्लोर मिलको शानदार फड्को: एकै वर्षमा सवा अर्ब बढीको व्यापार

स्वस्तिक फ्लोर मिलको शानदार फड्को: एकै वर्षमा सवा अर्ब बढीको व्यापार तरुण खबर ११ कार्तिक २०८२, मंगलवार ११:०१
स्वस्तिक फ्लोर मिलको शानदार फड्को: एकै वर्षमा सवा अर्ब बढीको व्यापार

काठमाडाैं, ११ कार्तिक । सुनसरीमा अवस्थित स्वस्तिक फ्लोर मिलले व्यवसाय सुरु गरेको करिब एक वर्षको छोटो अवधिमै उल्लेखनीय वित्तीय सफलता हासिल गरेको छ। कम्पनीले स्थापना भएको छोटो अवधिमै १ अर्ब २५ करोडभन्दा बढीको कारोबार गर्न सफल भएको हो।

सन् २०२३ को सेप्टेम्बरबाट व्यावसायिक उत्पादनमा आएको यस कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब २९ करोड ६० लाख रुपैयाँको व्यापार गर्न सफल भएको छ। कम्पनीको व्यापार एक वर्षको अवधिमा ५७.२८ प्रतिशतले वृद्धि भएको छ। सन् २०२४ मा कम्पनीले ८२ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो।

उत्पादन र क्षमता:

सन् २०२१ मा दर्ता भएको स्वस्तिक फ्लोर मिलले गहुँ प्रशोधन गरी मैदा, आँटा, सुजी र चोकर उत्पादन गर्दै नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ। कम्पनीले आफ्ना उत्पादनहरू १ केजीदेखि ५० केजीसम्मका विभिन्न प्याकेजमा बजारमा पठाउँदै आएको छ।

उद्योगको वार्षिक उत्पादन क्षमता यस प्रकार रहेको छ:

  • मैदा मिल: ६ हजार ६ सय मेट्रिक टन
  • आँटा उत्पादन: ३ हजार १ सय ६० मेट्रिक टन
  • सुजी उत्पादन: २ सय ४० मेट्रिक टन

कम्पनीले उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ गहुँ आन्तरिक बजारसँगै विदेशबाट समेत आयात गरी प्रशोधन गर्दछ। कम्पनीमा सात जना सदस्य छन् र संस्थाको नेतृत्व अध्यक्ष हेमन्तकुमार अग्रवालले गरिरहेका छन्।

सुदृढ वित्तीय स्थिति:

कारोबारमा मात्र होइन, कम्पनीको वित्तीय स्थिति कर्जाको हिसाबले पनि मजबुत बन्दै गएको छ। स्वस्तिक फ्लोर मिलले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि कुल ७४ करोड ५९ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ। जसमध्ये दीर्घकालीन कर्जा तर्फ २४ करोड ५९ लाख रुपैयाँ र अल्पकालीन कर्जा तर्फ ५० करोड रुपैयाँ रहेको छ।