तरुण खबर
११ कार्तिक २०८२, मंगलवार ११:३९
काठमाडाैं, ११ कार्तिक । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको विद्यमान राजनीतिक जटिलतालाई समाधान गर्न, जनअपेक्षा पूरा गर्न तथा राष्ट्रिय सार्वभौमिकता र लोकतन्त्रको रक्षाका लागि वाम एकता र राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताएका छन्।
उनले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक अपिल जारी गर्दै यस्तो आवश्यकता औंल्याएका हुन्।
प्रचण्डले देशमा देखा परेका समस्या र सङ्कटहरूको समाधान प्रगतिशील विचार, प्रतिबद्ध संगठन र निष्ठापूर्ण राजनीतिक पहलबाट मात्र सम्भव हुने बताएका छन्। उनले भनेका छन्, “देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिबीच सांगठनिक ध्रुवीकरण र लोकतान्त्रिक शक्तिबीच राष्ट्रिय सहकार्य अबको अपरिहार्यता बनेको छ।”
उनले संविधानको रक्षा, समावेशी लोकतन्त्रको समुन्नत विकास र राष्ट्रिय स्वाधीनताको पक्षमा सबै गणतन्त्रवादी शक्तिहरूलाई साझा राष्ट्रिय मोर्चामा एकताबद्ध भएर उभिन समेत आग्रह गरेका छन्।
साथै, उनले माओवादीसहितका सम्पूर्ण वामपन्थी शक्तिहरूलाई एउटै कम्युनिस्ट पार्टीको ब्यानरमुनि एकताबद्ध हुनका लागि हार्दिक अपील गरेका छन्।


