तरुण खबर
१२ कार्तिक २०८२, बुधबार ११:२५
काठमाडाैं, १२ कार्तिक । हिमालयन बैंक लिमिटेडमा पाकिस्तानी बहुराष्ट्रिय बैंक हबिबको स्वामित्वमा रहेको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई हस्तान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सम्बन्धित कम्पनीहरूका अनुसार अबको एक साताभित्र बैंकको सेयर स्वामित्व हस्तान्तरण गरिसक्ने हिसाबले काम भइरहेको छ।
नेपाल राष्ट्र बैंकले तिहारअघि नै ‘एकमूष्ठ’ खरिदका लागि अन्तिम स्वीकृति दिएपछि गत आइतबार नेशनल लाइफ र हिमालयन बैंक दुबैले सेयर कारोबार टुङ्ग्याउनका लागि धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूलाई जिम्मा दिइसकेका छन्। नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश खत्रीले ब्रोकर कम्पनीहरूलाई जिम्मा दिइएकाले अबको एक साताभित्र हक हस्तान्तरण भइसक्ने अपेक्षा गरिएको बताएका छन्।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले सेयरको हक हस्तान्तरणका लागि आवश्यक पर्ने विभिन्न १८ किसिमका कागजात जुटाएर नामसारीको प्रक्रियामा पठाइसकेको जानकारी दिएका छन्। कम्पनी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका कारण कम्पनी रजिस्ट्रारबाट नभई नेप्सेको प्लेटफर्मबाट सेयरको हक हस्तान्तरण हुनेछ।
कतिमा हुँदैछ कारोबार?
नेशनल लाइफले हबिबको स्वामित्वमा रहेको उक्त सेयर प्रतिकित्ता ११८ रुपैयाँ ८८ पैसा मा खरिद गर्न लागेको हो। यसका लागि नेशनल लाइफले कुल ३ अर्ब ३३ करोड १ लाख १९ हजार ७५३ रुपैयाँ तिर्ने छ। यो कारोबारपछि हबिबले नेपालबाट करिब २ करोड ३६ लाख अमेरिकी डलर पाकिस्तान लैजानेछ।
नेशनल लाइफ नै सबैभन्दा ठूलो सेयरधनी
हाल डेढ प्रतिशत हाराहारी स्वामित्व रहेको नेशनल लाइफले हबिबको १३ प्रतिशतजति सेयर खरिद गरेपछि ऊसँग हिमालयन बैंकको कुल साढे १४ प्रतिशत हाराहारी स्वामित्व पुग्ने छ, जसले नेशनल लाइफलाई बैंकको सबैभन्दा ठूलो सेयरधनी बनाउने छ।
सेयर हस्तान्तरण भइसकेपछि हबिबका तर्फबाट हिमालयन बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने फह्रान तालिबले राजिनामा दिने छन्। त्यसपछि बैंकको सञ्चालक समितिले नेशनल लाइफको प्रतिनिधीलाई सञ्चालक नियुक्त गर्न सक्नेछ। बैंकरहरूका अनुसार यसका लागि आगामी वार्षिक साधारणसभा कुर्नुपर्ने छैन।
तर, नेशनल लाइफका तर्फबाट हिमालयन बैंकमा आउने सञ्चालक को हुन्छ भन्ने बारेमा भने अहिले नै कुनै टुङ्गो नलागेको सीईओ खत्रीले बताएका छन्। उनले यस विषयमा आफ्नो सञ्चालक समितिले निर्णय गर्ने जानकारी दिएका छन्।


