तरुण खबर
१६ कार्तिक २०८२, आईतवार १०:११
काठमाडाैं, १६ कार्तिक । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ। शुक्रबारका लागि तय गरिएको बैठक स्थगित भएपछि पुनः आजका लागि बोलाइएको हो।
कांग्रेसका प्रमुख सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टीभित्र देखिएको १५औं महाधिवेशनको मिति सम्बन्धी विवाद समाधानमा केन्द्रित हुनेछ।
सचिवद्वय गगन थापा र विश्वप्रकाश शर्माको समूहले महाधिवेशन यही पुष (डिसेम्बर) भित्रै सम्पन्न गर्नुपर्ने माग गर्दै आएको छ। तर पार्टीको स्थापित समूह भने आगामी चुनावअघि महाधिवेशन गर्न नसकिने अडानमा रहेको छ र त्यसअनुसार कार्यतालिका परिमार्जन गर्नुपर्ने मत राखेको छ।
यो विवाद तीव्र बनेपछि महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले विशेष महाधिवेशन बोलाउन माग गर्दै हस्ताक्षर समेत बुझाएका छन्। यस मागले पार्टीभित्रको नेतृत्व–संरचना र आगामी राजनीतिक दिशाबारे बहसलाई अझ गहिरो बनाएको छ।
आजको बैठकले यही विषयमा निर्णयात्मक बहस गर्ने तयारी गरेको बताइएको छ। बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुवै महासचिव र शीर्ष नेताहरूलाई बोलाएर आन्तरिक सहमतिको प्रयास समेत थालेका छन्।
कांग्रेसभित्र पछिल्ला दिनमा देखिएको यो मतभेदले पार्टीको आगामी रणनीति, निर्वाचन तयारी र संगठनात्मक संरचनामा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।


