तरुण खबर
१६ कार्तिक २०८२, आईतवार १०:४०
काठमाडाैं, १६ कार्तिक । ऊर्जा तथा शहरी विकास मन्त्री कुलमान घिसिङ काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न आज (आइतबार) बिहानै बन्चरेडाँडा ल्यान्डफिल साइट को निरीक्षणमा पुगेका छन्।
पछिल्लो समय स्थानीय बासिन्दाले विगतका सहमतिहरू कार्यान्वयन नभएको भन्दै फोहोर विसर्जनमा अवरोध गरेपछि मन्त्री घिसिङ समस्या समाधानका लागि आफैँ बन्चरेडाँडा पुगेका हुन्।
अवरोध र माग:
शुक्रबारदेखि स्थानीयहरूले फोहोर बोकेका गाडीहरूलाई साइटमा प्रवेश गर्न दिएका छैनन्। उनीहरूको मुख्य माग फोहोरको उचित व्यवस्थापन र सरकार तथा महानगरपालिकासँग भएका विगतका सम्झौताहरूको पूर्ण पालना रहेको छ। स्थानीयको निरन्तरको दबाब र फोहोर विसर्जनमा भएको अवरोधले उपत्यकामा फोहोर थुप्रिन थालेपछि मन्त्री घिसिङले यस विषयमा पहलकदमी लिएका हुन्।
मन्त्रीको निजी सचिवालयका अनुसार घिसिङले बन्चरेडाँडाको समग्र सञ्चालन र स्थानीयका गुनासा सुन्दै समस्या तत्काल समाधानका उपायहरू खोज्न स्थलगत अनुगमन गरेका छन्।


