तरुण खबर
१६ कार्तिक २०८२, आईतवार ११:१०
काठमाडाैं, १६ कार्तिक । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा देखिएको अत्यधिक चाप र त्यसबाट उत्पन्न प्राविधिक समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ।
कार्यालयका अनुसार, अधिकांश बोलपत्रदाताहरूले अन्तिम समयमा मात्रै बोलपत्र (बिड) पेश गर्ने गरेका कारण प्रणालीमा एकैपटक भार बढ्ने र प्राविधिक समस्या देखा पर्ने गरेको हो। यसले गर्दा बोलपत्र प्रक्रिया जटिल बन्ने र सहभागीहरूको बोलपत्र नै छुट्ने जोखिम बढेको भन्दै गुनासाहरू बढेका छन्।
समयमै बिड पेश गर्न आग्रह:
कार्यालयले बोलपत्रमा सहभागी हुने सबैलाई अन्तिम समयको प्रतीक्षा नगरी समयमै बिड पेश गर्न आग्रह गरेको छ।
“यदि सर्भरमा समस्या आएर कुनै प्रयोगकर्ताले पहुँच नै नपाए मात्र म्याद थप गरिनेछ। तर अन्तिम समयमा प्रणाली ढिलो भएको कारण मात्र म्याद थप गर्न नमिल्ने भन्दै समयमै बिड समिट गर्न सबै सहभागीलाई आग्रह गरिएको छ,” कार्यालयले स्पष्ट पारेको छ।
बोलपत्रदाताको अन्तिम घडीको हतारले प्रणालीमा चाप बढाएको र यसलाई व्यवस्थित गर्न बोलपत्रदाता स्वयं जिम्मेवार बन्नुपर्ने कार्यालयको भनाइ छ।


