दलमा आबद्ध शिक्षक, प्राध्यापक र कर्मचारीलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

दलमा आबद्ध शिक्षक, प्राध्यापक र कर्मचारीलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी तरुण संवाददाता २३ कार्तिक २०८२, आईतवार १६:२३
दलमा आबद्ध शिक्षक, प्राध्यापक र कर्मचारीलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले दलमा आबद्ध शिक्षक, प्राध्यापक र कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

शिक्षा मन्त्रालयले आइतबार जानकारी तथा ध्यानाकषर्ण पत्र जारी गर्दै राजनीतिक दलमा आवद्ध हुने शिक्षक, प्राध्यापक र कर्मचारीहरुलाई कारबाही हुने चेतावनी दिएको हो ।

शिक्षामन्त्री पुनले शिक्षकहरुलाई राजनीतिमा नलाग्न ध्यानाकषर्ण समेत गराएका छन् ।

‘मन्त्रालयको आधिकारिक इमेल, टेलिफोनलगायत विभिन्न सामाजिक सञ्जालमा अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज, शिक्षाविद् तथा सरोकारवालाहरुवाट श्रम ऐन, २०७४ तथा ट्रेड युनियन ऐन, २०४९ बमोजिम पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्न स्थापना भएका नेपाल शिक्षक महासंघ तथा नेपाल शिक्षक महासंघसँग आवद्धता लिएका पेशागत संगठनहरू र विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीका पेशागत संघसंगठनहरू पेशागत कर्तव्य, नैतिक दायित्व र पेशागत आचरणविपरीत राजनीतिक गतिविधिहरूमा संलग्न भएको र उक्त कारणले शैक्षिक गुणस्तर खस्किँदै गएको भनी व्यापक जनगुनासो प्राप्त भएको सन्दर्भमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

यसअघि सुमना श्रेष्ठ शिक्षामन्त्री हुँदा पनि यस्तै विज्ञप्ति जारी गरिएको थियो । तर श्रेष्ठ सफल भइनन् । उनी सरकार फेरबदलको मारमा परिन् । र, शिक्षामन्त्री गुमाउन पुगिन् । तर जेनजी आन्दोलनपछि बनेका शिक्षामन्त्री पुनले आँट गरेर दलमा आबद्ध शिक्षक, कर्मचारी, प्राध्यापकलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

‘सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारी व्यवस्थापन सम्बन्धी पेशागत ऐनहरूले कर्तव्य, नैतिक दायित्व र आचरणको प्रवन्ध गरेको सर्वविदितै छ। कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन र राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने सम्मको कानूनी कारवाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछु,’ विज्ञप्तिमा छ ।

मन्त्री पुनले विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भातृसंगठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ-संगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको बताएका छन् ।

‘मन्त्रालय शिक्षक–कर्मचारीको पेशागत हकहितका साथै उनीहरुको संविधानप्रदत्त हक अधिकार अभ्यासको सदैव सम्मान गर्दछ र उक्त हकाधिकारको प्रयोग र संरक्षणबारे संवेदनशील पनि रहेकोले शिक्षक महासंघ, प्राध्यापक संघलगायत शिक्षा क्षेत्रमा क्रियाशील संघ सङ्गठनहरुलाई गैर राजनीतिक चरित्रको, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउने प्रयोजनार्थ सोही बमोजिमको कानूनी प्रवन्धसहित पुनर्गठन गर्न आव्हान गर्दछु,’ मन्त्री पुनद्धारा जारी ध्यानाकषर्ण पत्रमा भनिएको छ ।