भोलिदेखि अनिवार्य अवकाशमा जाँदै आइजीपी खापुङ

भोलिदेखि अनिवार्य अवकाशमा जाँदै आइजीपी खापुङ तरुण संवाददाता २६ कार्तिक २०८२, बुधबार १३:१४
भोलिदेखि अनिवार्य अवकाशमा जाँदै आइजीपी खापुङ

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ बिहीबारबाट अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी प्रधान कार्यालयको अडिटोरियम हलमा बिहीबार दिउँसो ३ बजे आईजीपी खापुङको लागि बिदाई समारोह आयोजना हुँदैछ ।

समारोहमा प्रहरी अधिकृत तथा कर्मचारीलाई तोकिएको समयमा कार्यालय पोशाकमा उपस्थित हुन हेडक्वार्टरको निर्देशन छ ।

भदौ २३ र २४ गतेका आन्दोलनकारीबाट तीन प्रहरी मात्र मारिएनन्, उपत्यकाका ९० प्रतिशत प्रहरी कार्यालय आन्दोलनकारीले कब्जा लिएर आगजनी गर्नुका साथै हातहतियार लुटे । आफ्नो मुख्यालयसमेत प्रहरीले बल्लतल्ल जोगाएको थियो । प्रहरीको इतिहासमा एकैदिन यति ठुलो क्षति कहिल्यै नभोगेको र प्रहरी यसरी निरीह अवस्थामा द्वन्द्वकालमा पनि नभएको प्रहरी अधिकारी बताउँछन् । यस्तो अवस्थामा प्रहरी नेतृत्वमा थिए खापुङ ।

गत २३ भदौमा भ्रष्टाचारविरुद्ध युवाहरूले आन्दोलन थाल्दा खापुङ बधाई थाप्नै व्यस्त थिए । किनकि महानिरीक्षकमा नियुक्त भएको पाँच दिन मात्र भएको थियो । राम्रोसँग सबै विभागबाट ब्रिफिङसमेत लिन नपाई उनले प्रहरी इतिहासकै सकसपूर्ण समयको सामना गर्नुपर्‍यो ।
भदौ २३ को आन्दोलनमा युवा तथा विद्यार्थीमाथि भएको प्रहरीको दमन र भोलिपल्ट त्यसको विरोधमा भएको विध्वंसले नेपाल प्रहरी इतिहासमै कमजोर अवस्थामा पुगेको थियो ।

चुनौतीपूर्ण समयमा प्रहरीको नेतृत्व गरेका खापुङको बर्दीमा त्यही एउटा असफलताको दाग लागेको छ । पर्याप्त सुरक्षा योजना बनाएर त्यसको आकलन गर्न नसक्दा यो अवस्था आएको विश्लेषकहरूको भनाइ छ । यो दृष्टिकोणबाट खापुङको कार्यकाल प्रहरी इतिहासकै एउटा खराब कालखण्डका रूपमा लेखिनेछ ।

खापुङ बुधबार नवनियुक्त आइजिपी दानबहादुर कार्कीलाई नेतृत्व सुम्पिएर संगठनबाट बिदा हुँदै छन् । आन्दोलनको दुई महिनाबीचमा खापुङले जसरी प्रहरीको मनोबल उकासेका छन्, यसलाई धेरैले सराहना गरेका छन् ।