तरुण खबर
२८ कार्तिक २०८२, शुक्रबार १२:४४
काठमाडाैं, २८ कार्तिक । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (IPO) मार्फत १७ लाख ६० हजार कित्ता साधारण शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले उक्त शेयर निष्कासन तथा बिक्री प्रबन्धकका लागि एनएमबि क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ।
कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँ को २२ प्रतिशत अर्थात् १७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर निष्कासन गर्न लागेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी शेयरहरू आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, सामूहिक लगानी कोष योजनाहरू, कम्पनीमा कार्यरत कर्मचारीहरू तथा सर्वसाधारणमा तोकिए बमोजिम जारी गरिनेछन्।
बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता-पत्रमा २०८२ कार्तिक २६ गते हस्ताक्षर भएको थियो। फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल र एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्य ले सम्झौतामा हस्ताक्षर गरेका थिए।
प्रबन्ध सञ्चालक दुलालका अनुसार, भोजपुर जिल्लाको सापाल्पासिलिछो गाउँपालिका वडा नं. ६ मा बग्ने फेदी (थुमलुङ्ग) खोलामा निर्माणाधीन ४.३ मेगावाट को फेदी (थुमलुङ्ग) जलविद्युत आयोजनाको कुल लागत करिब ९४ करोड रुपैयाँ रहेको छ।
आयोजनाको हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र यसलाई २०८२ माघ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरू पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडि बढाइने योजना रहेको दुलालले जानकारी दिएका थिए।


