तरुण खबर
२८ कार्तिक २०८२, शुक्रबार २०:२७
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले “बीमा सुरक्षित भविष्यको आधार” भन्ने मूल नाराका साथ आज बिहान काठमाडौँमा बीमा सचेतना वाकाथन सम्पन्न गरेको छ। यस अभियानको उद्देश्य जनसाधारणमध्ये बीमाको आवश्यकता, फाइदा तथा भविष्य सुरक्षित गर्न बीमाको भूमिकाबारे सन्देश प्रवाह गर्नु रहेको कम्पनीले जनाएको छ।
वाकाथन कम्पनीको नक्सालस्थित केन्द्रीय कार्यालयबाट सुरु भई नक्साल भगवती मन्दिर–नागपोखरी–गैरीधारा–प्रहरी मुख्यालय–हिल्टन होटल हुँदै पुनः केन्द्रीय कार्यालयमै पुगेर समापन गरिएको थियो। करिब ४ किलोमिटर लामो मार्ग तय गरिएको उक्त कार्यक्रममा उपत्यकाभित्रका शाखा कार्यालयका झन्डै १०० जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
सहभागीहरूले “बीमा सुरक्षित भविष्यको आधार” भन्ने सन्देशअंकित ब्यानर र प्लेकार्ड बोकेर सर्वसाधारणमा बीमा सचेतना फैलाउने क्रममा सहभागिता जनाएका थिए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले यस्ता जनमुखी अभियानहरूले बीमा प्रतिको समझदारी र दायित्वबोध बढ्दै जाने उल्लेख गर्दै भने, “बीमाबारे सही जानकारी बढेपछि नागरिकहरू अझ जिम्मेवार र सजग बन्छन्, जसले राष्ट्रकै सुरक्षा र समृद्धिमा टेवा पुर्याउँछ।”


