तरुण खबर
१ मंसिर २०८२, सोमबार १०:५८
काठमाडाैं, १ मंसिर । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ । वि.सं. १९९४ साल कार्तिक ३० गते स्थापना भएको यो बैंकले मिति २०८२ साल कार्तिक ३० गते ८८औं वर्ष पूरा गरी ८९औं वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा विशेष समारोह आयोजना गरेको थियो ।
बैंकका सञ्चालक समितिका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माले समारोहको अध्यक्षता गरेका थिए ।
बैंकको वर्तमान स्थिति:
सेवा सञ्जाल: नेपालभर २३१ शाखा, २३७ एटिएम र ६१ वटा एक्सटेन्सन काउन्टर ।
ग्राहक संख्या: करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान ।
डिजिटल पहुँच: करिब १० लाख ग्राहकले डिजिटल प्रविधिमार्फत बैंकिङ सेवा लिइरहेका छन् ।
बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गर्दै आधुनिक बैंकिङ प्रविधिमार्फत प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।
पुरस्कार तथा सम्मान:
वार्षिकोत्सव समारोहमा उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा शाखाहरूलाई सम्मान गरिएको थियो:
दीर्घ सेवा पदक: २५ वर्ष अटुट सेवा गर्ने ३ जना र २० वर्ष सेवा गर्ने ५३ जना कर्मचारीहरूलाई पदक तथा प्रशंसापत्र प्रदान गरियो ।
सुरक्षा सम्मान: प्रतिकुल अवस्थामा पनि बैंकको सुरक्षा मजबुत गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका गौरादह र नयाँ बानेश्वर शाखाका सुरक्षकहरूलाई पुरस्कृत गरियो ।
उत्कृष्ट शाखा सम्मान: प्रादेशिक तथा भौगोलिक वर्गगत रूपमा उत्कृष्ट उपलब्धि हासिल गरेका १२ शाखालाई समेत पुरस्कृत गरिएको थियो ।
अध्यक्ष प्रा. डा. शर्माले कर्मचारीहरूलाई आगामी दिनमा अझ सशक्त, उच्च मनोबल र इमान्दारीका साथ आफ्नो अधिकार क्षेत्रभित्र रहेर कार्यक्षेत्रमा लाग्न प्रेरित गर्दै व्यवस्थापनलाई सञ्चालक समितिको सदैव साथ रहने विश्वास दिलाएका थिए ।


