सूर्यविनायक–धुलिखेल सडक विस्तारले लियो गति: समग्र प्रगति ५०% नाघ्यो

सूर्यविनायक–धुलिखेल सडक विस्तारले लियो गति: समग्र प्रगति ५०% नाघ्यो तरुण खबर ७ मंसिर २०८२, आईतवार ११:१४
सूर्यविनायक–धुलिखेल सडक विस्तारले लियो गति: समग्र प्रगति ५०% नाघ्यो

काठमाडाैं, ७ मंसिर । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ। यो महत्वपूर्ण आयोजनाले पछिल्लो समय गति लिएको देखिएको छ।

१५.८ किलोमिटर लामो यो सडकलाई ६ लेन मा विस्तार गर्ने कामलाई दुई प्याकेजमा विभाजन गरी तीव्र पारिएको छ।

प्याकेजअनुसारको प्रगति:

  • सूर्यविनायक–साँगा खण्ड (८.३ कि.मि.): ४५ प्रतिशत

  • साँगा–धुलिखेल खण्ड (७.५ कि.मि.): ५५ प्रतिशत

हाल दुवै प्याकेजको निर्माण कार्य धमाधम भइरहेको छ र यसको आधारभूत संरचना निर्माणमा उल्लेख्य प्रगति भएको छ। दुवै प्याकेजमा टेवा पर्खाल तथा नाली निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ भने साँगा-धुलिखेल खण्डको करिब २ किलोमिटर सडक कालोपत्रे समेत भइसकेको छ।

मन्त्री घिसिङद्वारा अनुगमन र निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले उक्त सडक विस्तारको अनुगमन गर्नुका साथै निर्माण प्रगतिबारे जानकारी लिएका छन्।

मन्त्री घिसिङले सडक विभागका महानिर्देशक, आयोजना प्रमुख र निर्माण व्यवसायीसँग छलफल गरी आगामी असारभित्रमा सडक विस्तार सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिन निर्देशन दिएका छन्। उनले काम गर्ने अहिले उपयुक्त मौसम रहेकाले जनशक्ति र उपकरण थप गरी पूर्णरूपमा परिचालित हुन आग्रह गरे।

बजेट अभाव हट्ने, समस्या समाधानमा जोड

सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, र बजेटको अभावले आयोजनाको निर्माण कार्य प्रभावित भएको थियो। यद्यपि, मन्त्री घिसिङले अर्थ मन्त्रालयबाट प्रतिबद्धता जनाइसकेकाले अब आयोजना निर्माणमा बजेट अभाव नहुने स्पष्ट पारेका छन्।

माग भएको बजेट: करिब ४ अर्ब रुपैयाँ

चालु आ.व.मा विनियोजित: ७० करोड रुपैयाँ

मन्त्री घिसिङले बनेपा बजार क्षेत्रमा सडक विस्तारमा देखिएको समस्या समाधानका लागि बनेपा नगरपालिकाका प्रमुखसँग समेत छलफल गरी आवश्यक सहयोग र सहजीकरण गरिदिन आग्रह गरेका छन्।