तरुण खबर
१० मंसिर २०८२, बुधबार ११:३९
काठमाडाैं, १० मंसिर । नेपालको वित्तीय प्रणालीमा देखिएको अधिक तरलताको चापलाई व्यवस्थित गर्न नेपाल राष्ट्र बैंकले आज (बुधबार) फेरि थप ३० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ। केन्द्रीय बैंकले तरलता व्यवस्थापनको उद्देश्यले निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत यो रकम खिच्न लागेको हो।
निक्षेप संकलन प्रक्रिया
रकम: ३० अर्ब रुपैयाँ
अवधि: ४२ दिन
बोलकबोल समय: आज दिउँसो २ बजे अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ।
खरिद र परिपक्वता: निक्षेप संकलन आजै (बुधबार) खरिद गरिनेछ भने यसको परिपक्वता तथा सावाँ ब्याज भुक्तानी पुस २३ गते हुनेछ।
सहभागी: ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र यो बोलकबोलमा सहभागी हुन पाउनेछन्।
आवेदनको मापदण्ड:
इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ बराबरको रकमका लागि आवेदन दिन सक्नेछन्।
आवेदकले ५ करोड रुपैयाँले भाग जाँदा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।
निक्षेप संकलन उपकरणको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ र बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ। तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले पछिल्लो समय नियमित रूपमा बजारबाट रकम खिच्ने कार्यलाई तीव्रता दिइरहेको छ।


