नेपालको अध्यक्षतामा SAARCको ६१ औं बैठक सुरु

नेपालको अध्यक्षतामा SAARCको ६१ औं बैठक सुरु तरुण खबर ११ मंसिर २०८२, बिहीबार ११:४५
नेपालको अध्यक्षतामा SAARCको ६१ औं बैठक सुरु

काठमाडाैं, ११ मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहकार्य संगठन (SAARC) को ६१औँ प्रोग्रामिङ कमिटी सत्र बुधबारदेखि भर्चुअल प्लेटफर्ममार्फत सुरु भएको छ। बैठकमा सदस्य राष्ट्रका वरिष्ठ अधिकारी, SAARC का विशेष निकाय तथा क्षेत्रीय केन्द्रका प्रमुख, र सचिवालयका वरिष्ठ अधिकारीहरूले भाग लिएका छन्।

नेपालको अध्यक्षतामा हुन लागेको यस बैठकमा सदस्य राष्ट्रका नेशनल फोकल पोइन्टहरू, अर्थात् बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाका परराष्ट्र/विदेश मन्त्रालयका संयुक्त सचिव वा निर्देशक जनरलहरू सहभागी छन्।

बैठकको औपचारिक उद्घाटन नेपालका परराष्ट्र मन्त्रालयका संयुक्त सचिव तथा SAARC प्रोग्रामिङ कमिटीका अध्यक्ष किरण शाक्यले गरे । उद्घाटन मन्तव्यमा उहाँले SAARC लाई क्षेत्रीय संवाद, सहयोग र संयुक्त कार्यका लागि महत्वपूर्ण प्लेटफर्मको रूपमा उल्लेख गर्दै सदस्य राष्ट्रहरूबीच साझा चुनौती र अवसरहरूको सामना गर्न यस संगठनले महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै, SAARC ले आफ्ना संस्थाहरूलाई बलियो बनाउँदै जनतालाई प्रत्यक्ष लाभ पुग्ने गतिविधिहरू सुनिश्चित गर्न निरन्तर सुधार गर्न आवश्यक रहेको उनको भनाइ थियो।

बैठकमा SAARC का महासचिव राजदूत मोहम्मद गोलाम सरवारले सदस्य राष्ट्रहरूलाई निरन्तर समर्थनको लागि धन्यवाद दिए। उनले SAARC को चार्टर अपनाइएको ४०औँ वार्षिकोत्सव आउँदो दिनमा मनाइने जानकारी दिनुहुँदै, यस ऐतिहासिक यात्राको समीक्षा गर्दै भविष्यमा संगठनले सामना गर्ने चुनौती र अवसरहरूलाई ध्यानमा राख्नुपर्ने बताए।