साफाले दक्षिण एसियाली देशहरूमा प्रकाशित वित्तीय प्रतिवेदनको मूल्यांकन गर्दै प्रत्येक वर्ष विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ। पाकिस्तानको इस्लामाबादमा आयोजित समारोहमा कामना सेवा विकास बैंकलाई मेरिट अवार्ड प्रदान गरिएको हो। बैंकले गत वर्ष पनि साफा अवार्ड जित्दै निरन्तर उत्कृष्टता कायम राखेको थियो।
बैंकले आफ्नो १८ औं वार्षिक साधारणसभाका लागि तयार पारेको वित्तीय प्रतिवेदनमा शेयरधनी तथा सरोकारवालाहरूका लागि सूचनाहरू स्पष्ट, पारदर्शी र व्यवस्थित रूपमा प्रस्तुत गरिएको थियो। यसले बैंकको वित्तीय जानकारी व्यवस्थापनमा उच्च स्तरको उत्तरदायित्व देखाएको साफाले उल्लेख गरेको छ।
साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्ट्स (IFAC) को नेटवर्क पार्टनर हो, जसअन्तर्गत नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, मालदिव्स, अफगानिस्तानसहित ११ देशका चार्टर्ड एकाउन्टेन्ट संस्थाहरू समावेश छन्।
कामना सेवा विकास बैंकको यही प्रतिवेदन यसअघि चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपाल (ICAN) ले प्रदान गर्ने “राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२४” मा वित्तीय सेवा क्षेत्रमा ‘गोल्ड अवार्ड’ प्राप्त गरिसकेको छ। बैंकले प्राप्त गरेको यी मान्यताले संस्थाको वित्तीय व्यवस्थापन, सुशासन र पारदर्शिताप्रतिको प्रतिबद्धता थप पुष्टि भएको छ।




