माथिल्लो अरुणमा स्वदेशी लगानीको ठूलो ढोका खुल्यो

माथिल्लो अरुणमा स्वदेशी लगानीको ठूलो ढोका खुल्यो तरुण खबर १४ मंसिर २०८२, आईतवार ११:१९
माथिल्लो अरुणमा स्वदेशी लगानीको ठूलो ढोका खुल्यो

काठमाडाैं, १४ मंसिर । संखुवासभाको भोटखोला गाउँपालिकामा बन्ने १,०६३ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना अब स्वदेशी पूँजी सहभागितासहित निर्माण हुने मार्गमा अघि बढेको छ। नेपाल विद्युत प्राधिकरणको अगुवाइमा तयार गरिएको वित्तीय व्यवस्थापन प्रस्तावले गैरआवासीय नेपाली (एनआरएन) र विदेशमा श्रम गरिरहेका नेपालीलाई समेत आकर्षक सेयर अवसर खुला गर्ने व्यवस्था गरेको छ।

२ खर्ब ३९ अर्ब लागतको आयोजनामा मिश्रित लगानी मोडेल

आयोजनाको निर्माण लागत (निर्माण अवधिको व्याजसहित) २ खर्ब ३९ अर्ब ७९ करोड रुपैयाँ रहने अनुमान गरिएको छ। निर्माण अवधिको व्याजबाहेक लागत २ खर्ब १३ अर्ब २९ करोड रुपैयाँ बराबर पर्छ। ७ वर्षे निर्माण अवधिमा वार्षिक ७ प्रतिशत व्याजदर रहने प्रक्षेपण छ।

कुल लागतको ३० प्रतिशत (७१ अर्ब ९४ करोड) स्वःपूँजी र ७० प्रतिशत (१ खर्ब ६७ अर्ब ८५ करोड) ऋणमार्फत व्यवस्थापन गरिनेछ।

एनआरएन र विदेशमा रहेका नेपालीका लागि १८ प्रतिशत सेयर

आयोजनामा जारी गरिने साधारण सेयरको ४९ प्रतिशत मध्ये १८ प्रतिशत हिस्सा एनआरएन तथा विदेशमा कार्यरत नेपालीलाई छुट्याइएको छ।
त्यस्तै—

  • १०% (७ अर्ब १९ करोड) — आयोजनाबाट प्रभावित क्षेत्र तथा संखुवासभा जिल्लावासीलाई

  • १८% (१२ अर्ब ९५ करोड) — देशभरका सर्वसाधारणलाई

  • २% (१ अर्ब ४४ करोड) — पिछडिएको क्षेत्रलाई

  • ०.५–०.५% — प्रवर्धक निकायका कर्मचारी तथा सामाजिक सुरक्षा कोष–टेलिकमलाई

संस्थापक तर्फ प्राधिकरणको मात्र ४१ प्रतिशत अर्थात २९ अर्ब ४९ करोड रुपैयाँ बराबरको लगानी रहनेछ।

ऋण व्यवस्थापनमा आन्तरिक स्रोत नै मुख्य

आयोजनामा आवश्यक ऋणमध्ये ४५ प्रतिशत सहुलियतपूर्ण सहवित्तीयकरणबाट आउँनेछ।
कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, एचआइडिसिएल, नेपाल टेलिकम तथा बीमा–पुनर्बीमा कम्पनीहरूले यसमार्फत ७५ अर्ब ५३ करोड लगानी गर्ने प्रस्ताव छ।

त्यस्तै—

  • ३०% ऋण (५० अर्ब ३६ करोड) — ऊर्जा बण्ड जारी गरेर

  • ४१ अर्ब ९६ करोड — बैंक तथा वित्तीय संस्थाहरूको सहवित्तीयकरणबाट जुटाइनेछ।

उत्पादन सुरु भएको पहिलो वर्षमै २७ अर्ब ९० करोड आम्दानी

व्यावसायिक उत्पादन सुरु भएको पहिलो वर्षमा २७ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुने अनुमान छ।
८ वर्षसम्म ३ प्रतिशत वार्षिक मूल्यवृद्धि पाएकाे खण्डमा आयोजना अवधिभर औसत आम्दानी ३४ अर्ब ५९ करोड पुग्नेछ।

औसत पिपिए दर पहिलो वर्षमा प्रतियुनिट ६.३ रुपैयाँ, ८ वर्षपछि ७.८ रुपैयाँ पुग्ने अनुमान छ।

वार्षिक ४ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन

माथिल्लो अरुणबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन हुनेछ।
हाल विद्युतगृह–बाँधस्थल जोड्ने २१ किमी पहुँच सडक निर्माण भइरहेको छ।
कोशी राजमार्गबाट आयोजनास्थल पुग्न अरुण नदीमा ७० मिटरको स्टील आर्क पुल निर्माणाधीन छ।

‘स्वदेशी पूँजीको अधिकतम उपयोग’ — कुलमान घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा प्राधिकरणका अध्यक्ष कुलमान घिसिङले स्वदेशी पूँजीलाई प्राथमिकता दिदैँ आयोजनाको लगानी संरचना तयार गरिएको बताए।

उनका अनुसार—

“एनआरएन, विदेशमा रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित, र सर्वसाधारण सबैलाई सहभागी गराएर आयोजना निर्माणमा छिटो अघि बढाउने उद्देश्य हो।”

आगामी वर्षदेखि निर्माण तीव्रता

आयोजनाको प्रवर्धक अपर अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेडलाई वित्तीय व्यवस्थापन प्रस्ताव अनुमोदन भइसकेको छ। अब छिट्टै सरकारले आवश्यक निर्णय लिएपछि आयोजना निर्माण तीव्र गति लिन तयारी गरिएको बताइन्छ।