‘रियल इस्टेट ब्रोकर’ लाइसेन्समा नयाँ अवसर, आवेदन म्याद १५ दिन थप

‘रियल इस्टेट ब्रोकर’ लाइसेन्समा नयाँ अवसर, आवेदन म्याद १५ दिन थप तरुण खबर १६ मंसिर २०८२, मंगलवार ११:०२
‘रियल इस्टेट ब्रोकर’ लाइसेन्समा नयाँ अवसर, आवेदन म्याद १५ दिन थप

भूमि व्यवस्थापन तथा अभिलेख विभागले ‘रियल इस्टेट ब्रोकर’को लाइसेन्सका लागि आवेदन दिने समयसीमा १५ दिन थप गरेको छ। सोमबार सार्वजनिक गरिएको सूचनामार्फत विभागले म्याद थपबारे जानकारी दिँदै निर्धारित अवधीभित्र आवेदन नदिन पुगेकाहरूका लागि नयाँ मौका खुला गरिएको बताएको हो।

घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन मालपोत ऐनअनुसार ब्रोकरको लाइसेन्स अनिवार्य गरिएको छ। सोही व्यवस्था अनुसार गत असोज २७ मा राजपत्रमा सूचना प्रकाशित गर्दै पहिलो चरणमा महानगरपालिका तथा उपमहानगरपालिकाका क्षेत्रभित्र लाइसेन्स प्रणाली लागू गरिने उल्लेख गरिएको थियो।

यसपछि विभागले कात्तिक १३ मा अर्को सूचना निकाल्दै फर्म, कम्पनी वा संस्थालाई ३० दिनभित्र आवेदन दिन अनुरोध गरेको थियो। सो समयसीमा मंसिर १२ मा सकिएको थियो।

तर माग बढी देखिएको र केही संस्थाले समय अभावका कारण निवेदन नदिन पाएको जनाएपछि विभागले मंसिर १३ देखि थप १५ दिन समय दिएको हो। अब आगामी मंसिर २७ गतेसम्म आवेदन दिन सकिनेछ।

विभागका अनुसार नयाँ समयसीमाले रियल इस्टेट क्षेत्रलाई व्यवस्थित बनाउन, दर्ता प्रक्रिया सहज बनाउन र औपचारिक ब्रोकर प्रणालीलाई विस्तार गर्न सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।