भारतले आकाशमा इन्धन भर्ने ६ वटा रिफ्युलिङ विमान खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। भारतीय वायुसेनाले इजरायली सरकारी स्वामित्वको एयरोस्पेस कम्पनीसँग ८ हजार करोड भारतीय रूपैयाँ (८० अर्ब नेपाली रूपैयाँ) बराबरको सम्झौता गर्न लागेको छ, भारतको RNA मिडियाले जनाएको छ।
धेरै वर्षको अध्ययन, मूल्यांकन र प्रतिस्पर्धापछि इजरायली कम्पनी एकमात्र योग्य आपूर्तिकर्ता बनेको बताइएको छ। सम्झौतापछि कम्पनीले प्रयोगमा आएका बोइङ ७६७ जहाजहरूलाई अत्याधुनिक हवाई इन्धन भर्ने क्षमतायुक्त विमानमा रूपान्तरण गर्नेछ र त्यसपछि ती विमान भारतीय वायुसेनालाई हस्तान्तरण गरिनेछ।
कम्पनीले भारतमा उत्पादन प्रवर्द्धनको लागि करीब ३० प्रतिशत भारतीय सामग्री प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ।
हाल भारतीय वायुसेनाले रुसी मूलका आठ आइयएल–७८ विमानमार्फत हवाई इन्धन भर्ने काम गर्दै आएको छ। आग्रामा आधारित ती विमानहरूले वायुसेना र नौसेनाका लडाकु विमानलाई दूरदराजको दूरीसम्म उडान क्षमता प्रदान गर्दै आएका छन्।
नयाँ रिफ्युलिङ विमानको आवश्यकता भर्खरै थपिएका आधुनिक लडाकु विमानहरूको दिगो सञ्चालन सुनिश्चित गर्न अत्यावश्यक रहेको वायुसेना अधिकारीहरूले बताएका छन्। पुराना विमान क्रमशः हट्दै गएको र लामो दूरीमा हवाई क्षमता वृद्धि भइरहेको अवस्थामा नयाँ विमानको भूमिका महत्वपूर्ण हुने उनीहरूको भनाइ छ।
यस सम्झौताले भारतीय वायुसेनाको हवाई शक्ति, तयारी अवस्था र कार्यक्षेत्र विस्तार गर्ने क्षमता उल्लेखनीय रूपमा वृद्धि गर्ने अनुमान गरिएको छ।




