तरुण खबर
१९ मंसिर २०८२, शुक्रबार १०:४५
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत प्लेअफमा पुग्ने अन्तिम टोलीको टुङ्गो आज (शुक्रबार) लाग्ने भएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४:०० बजे सुरु हुने खेलमा रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स र आरिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुँदैछ।
प्लेअफ समीकरण
प्रतियोगितामा हालसम्म तीन टोली (सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र विराटनगर किंग्स) ले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्। चौथो स्थानका लागि लुम्बिनी लायन्स बलियो दावेदारका रूपमा उभिएको छ।
लुम्बिनी लायन्स: ६ खेलबाट ६ अङ्कसहित तालिकाको चौथो स्थानमा छ।
जनकपुर बोल्ट्स: ५ खेलबाट २ अङ्कका साथ पुछारमा (आठौँ स्थानमा) छ।
लुम्बिनीले जिते ‘फाइनल फोर’ पूरा
यदि लुम्बिनी लायन्सले आजको खेल जित्न सफल भएमा उसले कुल ८ अङ्क जोड्दै प्लेअफमा स्थान बनाउनेछ र प्लेअफ समीकरण पूरा हुनेछ।
जनकपुरले जितेमा रनरेटको खेल
यता जनकपुर बोल्ट्सका लागि भने यो खेल ‘गर या मर’ को अवस्थामा छ। तालिकामा पुछारमा भए पनि जनकपुरले आज जित हात पारेमा उसको प्लेअफको सम्भावना कायमै रहनेछ। यस्तो अवस्थामा प्लेअफको अन्तिम स्थानको निर्णय बाँकी खेलका नतिजा र नेट रन रेट का आधारमा हुनेछ।


