अर्थतन्त्र अगाडि बढाउन निजी–सरकार सहकार्य अनिवार्य

अर्थतन्त्र अगाडि बढाउन निजी–सरकार सहकार्य अनिवार्य तरुण खबर २१ मंसिर २०८२, आईतवार ११:५७
अर्थतन्त्र अगाडि बढाउन निजी–सरकार सहकार्य अनिवार्य

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रको गति बढाउन सरकारले निजी क्षेत्रसँग सहकार्य नगरे सफल हुन नसक्ने बताएका छन्। आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले भने, “जबसम्म निजी क्षेत्र सँगसँगै लिएर जान सकिँदैन, तबसम्म नेपालको अर्थतन्त्र अगाडि लैजान सकिँदैन। यो अनुभवबाट पनि प्रमाणित भइसकेको छ।”

उनले निजी क्षेत्रप्रति दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै, नेपाल अर्थतन्त्रका एजेन्डाहरूमा पछि परेको भन्दै यसमा ध्यान दिनुपर्ने बताए। “हाम्रोमा कलेक्टिक एप्रोज पनि नभएकोमा वास्तविक रिजल्ट प्राप्त गर्न कठिन हुन्छ,” अध्यक्ष ढकालले गुनासो गरे।

नेपालमा केही गर्न नसकिने भन्ने गलत प्रचारलाई तोड्ने काम महासंघले गरिरहेको र आन्तरिक पुँजी परिचालन गरेर नेपालमै सम्भावना देखाइएको उनले उल्लेख गरे। जेनजी आन्दोलनपछि सुशासनका विषयमा पनि निजी क्षेत्रले सक्रिय माग राखेको र धेरै परिवर्तन भइरहेकाले उत्साह थपिएको बताए।

अध्यक्ष ढकालले सिइओको हातमा निर्णय रहने भएकाले उनीहरूको चाहना अनुसार काम हुने तर सिइओले नचाहे कुनै कुरा पारित नहुने प्रचलन रहेको पनि बताए। यसैगरी, एफएनसीसीआईले नेपालमा लगानी प्रवर्द्धनका लागि देश–विदेशमा विभिन्न कार्यक्रम र क्रियाकलाप गर्दै आएको जानकारी उनले दिए।

उनले सरकार–निजी क्षेत्र सहकार्य, सुशासन र आन्तरिक पुँजी प्रवाहलाई जोड दिँदै नेपालमा आर्थिक विकासका अवसर तीव्र गतिमा अघि बढ्ने विश्वास व्यक्त गरे।