कञ्चनपुरको मोहना नदी–डोकेबजार–बेलौरी–बेलडाँगी–दैजी सडक खण्ड निर्माणका लागि दिइएको ठेक्का रद्द गरिएको छ। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बाबा हन्स–सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँग भएको सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गर्दै ठेक्का तोडिएको जानकारी दिएको हो।
आर्थिक वर्ष २०७३/७४ मा सम्झौता गरिएको यो परियोजनामा करिब २० किलोमिटरमध्ये ५ किलोमिटर मात्र कालोपत्रे बाँकी छ। निर्माण प्रगति झन्डै ८२ प्रतिशत पुगिसक्दा पनि पटक–पटक ताकेता गर्दा काम नबढेको, प्रतिबद्धता अनुसार काम नगरेको तथा साइट पूर्ण रूपमा ठप्प बनाएको कारण ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको कार्यालयले जनाएको छ।
योजना कार्यालयले गत १४ कात्तिकमा ‘किन ठेक्का नतोड्ने?’ भनी १५ दिने स्पष्टीकरण मागेको थियो। तर संयुक्त उपक्रमले बुझाएको स्पष्टीकरण सन्तोषजनक नभएपछि सार्वजनिक खरिद ऐनअनुसार सम्झौता रद्ध गरिएको हो। निर्माण व्यवसायीले अद्यावधिक कार्यतालिका, स्रोत परिचालन योजना तथा काम पूरा गर्ने स्पष्ट प्रतिबद्धता नदेखाएको कार्यालयको भनाइ छ।
ऐनका प्रावधानअनुसार अब निर्माण व्यवसायीको कार्य सम्पादन जमानत जफत गरिने, बाँकी काम गर्न आवश्यक रकम सरकारी बाँकी सरह असूल गरिने र कालोसूचीमा राख्ने सिफारिस समेत अघि बढाइएको छ।
योजना कार्यालयले हालसम्म भएको कार्य र बाँकी कामको नापजाँच तथा वित्तीय फरफारकका लागि निर्माण व्यवसायीलाई १५ दिनभित्र उपस्थित हुन आग्रह गरेको छ। यदि उपस्थित नभएमा कार्यालय स्वयं नापजाँच गरेर प्रक्रिया अघि बढाइनेछ।
परियोजना स्थगित अवस्थामा रहे पनि ठेक्का रद्द भएपछि अब बाँकी काम शीघ्र अघि बढ्ने अपेक्षा गरिएको छ।




