तरुण खबर
२५ मंसिर २०८२, बिहीबार ११:२६
नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश प्रस्तावसहित ३२औँ वार्षिक साधारण सभा पुस १८ गते बोलाएको छ। सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे सुरु हुने बैंकले जनाएको छ।
बैंकले चालू चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनार्थ ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ। यो प्रस्ताव पारित भए शेयरधनीले कुल १० प्रतिशत बराबरको लाभांश प्राप्त गर्नेछन्।
साधारण सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनसम्बन्धी पहल गर्न सञ्चालक समितिलाई अधिकार दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न अनुमति दिने, सर्वसाधारण सेयरधनी समूहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि छ।
यस्तै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ४ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। त्यसअनुसार पुस ३ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
बैंकले यो साधारण सभालाई आगामी रणनीति, संरचनात्मक निर्णय र सेयरधनी हित संरक्षणमा महत्वपूर्ण कदमका रूपमा हेरिएको जनाएको छ।


