तरुण खबर
२८ मंसिर २०८२, आईतवार १०:२७
कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन पाँच वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसकेको पाइएको छ । माघ २०७७ मा २० महिनाभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता गरिएको उक्त भवनको हालसम्म करिब ५१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी भवन कार्यालय पोखराबाट निर्माण भइरहेको यो भवन करबाहेक १० करोड ५५ लाख रुपैयाँको लागतमा निर्माण हुँदैछ । तेस्रो पटक थप गरिएको समयावधि पनि गत साउनमै सकिएपछि आयोजना थप अन्योलमा परेको छ ।
आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले निर्माणस्थलको स्थलगत अनुगमन गर्दै निर्माण प्रगतिबारे जानकारी लिएका छन् । अनुगमनका क्रममा मन्त्री घिसिङले महाशाखा प्रमुख, प्रतिष्ठानका उपकुलपति तथा निर्माण व्यवसायीसँग निर्माण सम्पन्न हुने समयतालिका र अवरोधका विषयमा छलफल गरेका थिए ।
अस्पतालजस्तो जनताको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको संवेदनशील संरचना लामो समयसम्म अलपत्र पर्नु गम्भीर विषय भएको भन्दै मन्त्री घिसिङले निर्माणमा अब कुनै ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारे । उनले तत्काल कामले गति नलिए ठेक्का तोडेर निर्माण व्यवसायीमाथि कारबाही गर्दै नयाँ प्रक्रियामा जाने चेतावनी दिए ।
मन्त्री घिसिङले एक हप्ताभित्र निर्माण कार्यले स्पष्ट गति नलिए ठेक्का तोड्ने प्रक्रिया अघि बढाउन सम्बन्धित कार्यालयलाई निर्देशन पनि दिएका छन् ।
यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भरत खत्रीले भवन अभावकै कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको उल्लेख गर्दै तत्काल निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए । उनले निर्धारित समयमै काम हुन नसके ठेक्का तोडेर नयाँ प्रक्रियामा जानुपर्ने धारणा राखे ।
अनुगमनपछि अस्पतालको अत्यावश्यक भवन निर्माणले अब स्पष्ट दिशा लिने र निर्माण कार्य तीव्र हुने अपेक्षा गरिएको छ ।


