जनमुखी संसद सेवातर्फ जोड

जनमुखी संसद सेवातर्फ जोड तरुण खबर २८ मंसिर २०८२, आईतवार १०:३५
जनमुखी संसद सेवातर्फ जोड

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनकेन्द्रित संसदीय अभ्यास अपनाउँदै कार्यक्षमता र पेशागत निष्ठा अझ सुदृढ गर्न संसद सेवामा संलग्न कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

संघीय संसद सचिवालयमा आज आयोजित संसद सेवा दिवस २०८२ का अवसरमा शुभकामना सन्देश दिँदै सभामुख घिमिरेले सबै कर्मचारीहरूलाई सुख, शान्ति र प्रगतिका लागि शुभेच्छा व्यक्त गरे । उनले संसद सेवाले संघीय संसदलाई प्रशासनिक तथा प्राविधिक सहयोग प्रदान गर्दै संविधान कार्यान्वयन र कानून निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।

सभामुख घिमिरेले १९ वर्षअघि संसदलाई अझ प्रभावकारी, मर्यादित र पेशागत बनाउन विशेष ऐनमार्फत संसद सेवा स्थापना गरिएको स्मरण गराउँदै प्रत्येक वर्ष मंसिर २८ गते संसद सेवा दिवस मनाइँदै आएको जानकारी दिए ।

उनले संसद सेवालाई लोकतन्त्रको मन्दिर संसदलाई सञ्चालनमा राख्ने पवित्र जिम्मेवारीका रूपमा व्याख्या गर्दै निष्पक्ष, दक्ष र प्रक्रियागत रूपमा पारदर्शी कर्मचारी संरचना बिना सक्रिय संसद सम्भव नहुने बताए । “संसदको स्वायत्तता कायम राख्दै समयानुकूल, प्रविधिमैत्री र विशेषज्ञतायुक्त सेवा प्रदान गर्न सामूहिक प्रयास आवश्यक छ,” उनले भने ।

यसै अवसरमा उपसभामुख इन्दिरा रानाले संसदको गरिमा र अधिकार जोगाउन सामूहिक प्रतिबद्धता अपरिहार्य रहेको बताइन् । उनले संविधानले परिकल्पना गरेअनुसार निर्वाचित जनप्रतिनिधिहरूले छिटो र प्रभावकारी रूपमा शासन सञ्चालन गर्न सक्ने वातावरण सिर्जना गर्नु संसद सेवाको महत्वपूर्ण दायित्व भएको उल्लेख गरिन् ।

उपसभामुख रानाले बदलिँदो समय सन्दर्भमा संसद सेवालाई अझ दक्ष, उत्तरदायी र नतिजामुखी बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउँदै संसद सेवा दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गरिन् ।

कार्यक्रमले संसद सेवामा संलग्न कर्मचारीहरूलाई जनमुखी सोच, पेशागत उत्कृष्टता र प्रविधिमैत्री कार्यशैलीतर्फ उन्मुख गराउने सकारात्मक सन्देश दिएको बताइएको छ ।