कांग्रेस पूर्वसांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा

कांग्रेस पूर्वसांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा तरुण संवाददाता २८ मंसिर २०८२, आईतवार १६:५२
कांग्रेस पूर्वसांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद सन्तोष चालिसेविरुद्ध अकूत सम्पत्ति आर्जनमा मुद्दा दायर भएको छ ।

चालिसेले गैरकानुनी रुपमा करोडौँ रकम आर्जन गरेको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा अभियोग पत्र दर्ता गरेको छ ।

०७९ को निर्वाचनमा काठमाडौँ ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित चालिसे ०७४ को निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको मेयर बनेका थिए । नगर प्रमुख हुँदा चालिसेले गैरकानुनी रुपमा तीन करोड ६८ बराबरको सम्पति आर्जन गरेको अख्तियारको दावी छ । सोही बराबरको रकम विगो कायम गरिएको अभियोग पत्रमा स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजायको माग गरिएको छ ।

चालिसे तत्कालीन प्रतिनिधिसभामा अर्थ समिति सभापति थिए । काठमाडौं ३ मा चालिसेको प्रभाव धेरै छ । भ्रष्टाचार मुद्दा दायर भएसँगै अब सो क्षेत्रमा कांग्रेसबाट को उम्मेदवार बन्ने भन्ने चर्चा परिचर्चा सुरु भएको छ । हालै मात्र काठमाडौं ३ बाट कांग्रेसले चालिसेको नाम एकल सिफारिस गरेको थियो । काठमाडौं ३ मा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले आफू सोही क्षेत्रबाट उम्मेदवारी दिने बताउँदै आएका छन् ।