तरुण खबर
२९ मंसिर २०८२, सोमबार ११:०९
जेनजी आन्दोलनका क्रममा घर, भवन तथा सवारीसाधनमा क्षति पुगेका बीमितहरूले सवा तीन अर्ब रुपैयाँभन्दा बढी बीमा भुक्तानी पाएका छन्। नेपाल बीमा प्राधिकरणबाट प्राप्त पछिल्लो तथ्याङ्कअनुसार आन्दोलनबाट भएको क्षतिबापत बीमा कम्पनीहरूले क्रमशः भुक्तानी प्रक्रिया अघि बढाएका छन्।
आन्दोलनका कारण ७१० वटा घर तथा भवनमा क्षति पुगेको भन्दै बीमा कम्पनीहरूमा दाबी पेस गरिएको थियो। सम्पत्ति बीमा अन्तर्गत १९ अर्ब ८ करोड ८६ लाख रुपैयाँ बराबरको दाबी परेकोमा हालसम्म ३ अर्ब २१ करोड ८९ लाख रुपैयाँ भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ।
त्यस्तै, जेनजी आन्दोलनबाट २३ सयभन्दा बढी सवारीसाधनमा क्षति पुगेको विवरण छ। मोटर बीमा अन्तर्गत २ हजार ३०८ वटा दाबी पेस भएकोमा ३ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ बराबरको क्षति मूल्यांकन गरिएको छ। यसमध्ये बीमितहरूले हालसम्म १ अर्ब ८ करोड ६० लाख रुपैयाँ भुक्तानी प्राप्त गरेका छन्।
कुल मिलाएर जेनजी आन्दोलनका कारण विभिन्न बीमा शीर्षकमा २३ अर्ब ४४ करोड ६ लाख रुपैयाँ बराबरका ३ हजार ३०० वटा दाबी पेस भएका छन्। ती दाबीमध्ये ४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ भुक्तानी भइसकेको छ, जुन कुल दाबीको १८.७० प्रतिशत हो।
प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा अन्तर्गत २२५ वटा दाबी पेस भएका छन्, जसको मूल्य ५५ करोड ५५ लाख रुपैयाँ रहेको छ। यस शीर्षकमा बीमा कम्पनीहरूले ६ करोड ८१ लाख रुपैयाँ भुक्तानी गरेका छन्।
परिवहन बीमा अन्तर्गत १२ वटा दाबीमार्फत १ करोड ६८ लाख रुपैयाँ बराबरको क्षति विवरण दर्ता भएकोमा बीमितहरूले ६६ लाख रुपैयाँ भुक्तानी पाएका छन्। यस्तै, अन्य बीमा शीर्षकमा ३८ करोड ४० लाख रुपैयाँ बराबरको दाबी परेको भए पनि हालसम्म ४९ लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ।
नेपाल बीमा प्राधिकरणले बाँकी दाबीहरू पनि आवश्यक प्रक्रिया पूरा भएपछि क्रमशः भुक्तानी हुने जनाएको छ। आन्दोलनबाट प्रभावित बीमितहरूलाई बीमा प्रणालीमार्फत राहत उपलब्ध गराउँदै लैजानु सकारात्मक पक्ष भएको प्राधिकरणको भनाइ छ।


