गत सेप्टेम्बर ९ मा भएको जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेको बौद्धस्थित प्रहरी वृत्तको भवन पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको छ। स्थानीय बासिन्दा तथा विभिन्न संघ–संस्थाको सहयोगमा पुनर्निर्माण गरिएको नयाँ भवनबाट आइतबारदेखि प्रहरी सेवा प्रवाह सुरु गरिएको हो।
नयाँ कार्यालय भवनको उद्घाटन नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले आइतबार गरेका हुन्। उद्घाटन कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसाल, प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गर्नेहरूलाई कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिए। उनीहरूले यस्ता घटनामा संलग्न व्यक्तिहरू पहिचान गर्न सीसीटीभी फुटेज महत्वपूर्ण प्रमाण बन्न सक्ने बताए।
आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको प्रहरी वृत्त स्थानीय तह, समुदाय र विभिन्न निकायको सहकार्यमा छोटो समयमै पुनर्निर्माण हुनु सकारात्मक उदाहरण भएको सहभागीहरूको भनाइ थियो। नयाँ भवनबाट सेवा सुरु भएसँगै बौद्ध र आसपासका क्षेत्रका नागरिकले पुनः सहज रूपमा प्रहरी सेवा पाउने अपेक्षा गरिएको छ।




