तरुण खबर
१ पुष २०८२, मंगलवार ११:४१
सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामै राजस्व संकलनमा सकारात्मक प्रगति हासिल गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म सरकारले कुल लक्ष्यको ७८.७४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ।
यस अवधिमा सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। पाँच महिनाका लागि ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा सो लक्ष्यको झण्डै ७९ प्रतिशत पूरा भएको अर्थ मन्त्रालयले जनाएको छ।
कुल संकलित राजस्वमध्ये अन्तःशुल्कबाट मात्रै ७६ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठेको छ। अन्तःशुल्क अन्तर्गत मदिरा, बियर, चुरोट तथा अन्य सुर्तीजन्य पदार्थमा लाग्ने शुल्कबाट राजस्व संकलन हुने गर्दछ। यस्ता वस्तुको पैठारीमा समेत अन्तःशुल्क लाग्ने व्यवस्था रहेको छ।
मंसिर महिनामा मात्र सरकारले ९५ अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। तर सो महिनामा ८० अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन भएको छ। मंसिर २९ गते एकै दिनमा ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व उठ्नु पनि उल्लेखनीय उपलब्धि मानिएको छ।
चालु आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तय गरेको छ। राजस्व संकलनको हालसम्मको प्रगतिले वार्षिक लक्ष्य हासिल हुने आशा बढाएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा सरकारले ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। त्यस्तै, गत वर्ष मंसिर महिनामा मात्र ८६ अर्ब ७६ करोड रुपैयाँ राजस्व उठाइएको थियो।



