तरुण खबर
१ पुष २०८२, मंगलवार १२:०६
गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा आगलागी प्रभावित चन्द्रागिरि हिल्स (केबलकार)ले आर्थिक वर्ष २०८१–८२ को वितरणयोग्य नाफाबाट शेयरधनीलाई बोनस दिने निर्णय गरेको छ।
कम्पनीका सचिव झलकराज शर्माका अनुसार सोमबार बेलुका ४ बजे बसेको ८५औँ सञ्चालक समितिको बैठकले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो। कम्पनीले चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ। साथै उक्त बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत अर्थात् ४० लाख ३७ हजार रुपैयाँ बराबर नगद लाभांश दिने व्यवस्था गरिएको छ।
बोनस पारितसहित कम्पनीले वार्षिक साधारण सभा (एजीएम) पनि बोलाएको छ। सभा पुस २३ गते बुधवार, बिहान ११ बजेदेखि चन्द्रागिरि हिल्स लिमिटेड बटम स्टेसन परिसर, थानकोटमा सञ्चालन हुने जनाएको छ।
सभामा आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पारित, वासलात, आय–व्यय हिसाब, नगद प्रवाह विवरण तथा अन्य एजेन्डा छलफल गरी पारित गर्ने व्यवस्था रहेको छ।


