तरुण सम्वाददाता
१ पुष २०८२, मंगलवार १५:५०
काठमाडौैं । चर्चित गायिका ज्योति मगर एमाले महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । चार दिनदेखि जारी एमाले महाधिवेशनमा मंगलबार लोकगायिका मगरको ‘सरप्राइज इन्ट्री’ भएको हो।
गायिका मगर महाधिवेशन प्रतिनिधिको रूपमा नभई एक उम्मेदवारको पक्षमा मत माग्न त्यहाँ पुगेकी हुन्। उनी जनजाति समुदायको झाँकी र ¥यालीमा सहभागी हुँदै नाचेकी थिइन्।
ज्योतिले पूर्णबहादुर गुरुङको पक्षमा मत मागेकी छन् । गुरुङको फोटोसहितको पम्पलेट देखाएर उनले महाधिवेशन प्रतिनिधिलाई भोट दिन आग्रह गरेकी छन् । एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा चुनावी सरगर्मी बढेसँगै आफ्नो पक्षका उम्मेदवारलाई भोट माग्ने क्रम पनि सुरु भएको छ ।
ज्योतिले मत मागेका गुरुङ आदिवासी जनजातितर्फ खुला केन्द्रीय सदस्यका उम्मेदवार हुन् । पछिल्लो समय ज्योति मगर एमालेप्रति सफ्ट कर्नर देखिँदै आएकी छन् । जेनजी आन्दोलनपछि उनी खरो रूपमा ठूला दल र तिनका नेताको बचाउमा उभिँदै आएकी छन् । ज्योतिले जेनजी आन्दोलनलाई ‘बच्चाबच्ची आए गुलेली खेलाए मट्यांग्राको सत्यानाश’ भन्ने ढंगले चित्रण गर्ने गरेकी छन् ।


