तरुण खबर
३ पुष २०८२, बिहीबार ११:३४
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिपछि निर्जीवन बीमा कम्पनीहरूले बीमितहरूलाई साढे ५ अर्ब रुपैयाँभन्दा बढी दाबी रकम भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणबाट प्राप्त पछिल्लो तथ्याङ्कले बीमा प्रणालीमार्फत क्षतिपूर्तिको प्रक्रिया प्रभावकारी रूपमा अघि बढिरहेको देखाएको छ।
जेनजी आन्दोलनका बेला निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनीसहित व्यापक क्षति पुगेको थियो। धेरै भौतिक संरचना र सवारी साधनमा ठूलो नोक्सानी भएपछि निर्जीवन बीमा कम्पनीहरूमा सुरुमा करिब ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको दाबी परेको थियो। तर हालसम्म अग्रिम भुक्तानी समेत गरी कुल ५ अर्ब १८ करोड रुपैयाँ बराबरको दाबी रकम बीमितहरूलाई भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ।
नेपाल बीमा प्राधिकरणमा आबद्ध १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक विवरण अनुसार, सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीबाट करिब १९ अर्ब २ करोड रुपैयाँ दाबी रकममध्ये करिब ३ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी भएको छ। त्यसैगरी मोटर बीमातर्फ २ हजार ३११ वटा बीमा दाबीमा करिब ३ अर्ब ४७ करोड रुपैयाँ दाबी परेकोमा करिब १ अर्ब २२ करोड रुपैयाँ भुक्तानी गरिएको छ।
इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बीमा दाबीको करिब ५५ करोड ४७ लाख रुपैयाँ दाबी रकममध्ये करिब ७ करोड ५० लाख रुपैयाँ भुक्तानी भएको छ। परिवहन बीमातर्फ १२ वटा बीमा दाबीको करिब १ करोड ६९ लाख रुपैयाँमध्ये करिब १ करोड ५५ लाख रुपैयाँ भुक्तानी गरिएको छ भने अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको करिब ३८ करोड ४० लाख रुपैयाँमध्ये करिब ५ करोड ५० लाख रुपैयाँ अग्रिम भुक्तानीसहित उपलब्ध गराइएको छ।
यसैबीच, जेनजी आन्दोलनका क्रममा भएको क्षतिका लागि पुनर्बीमा दाबी भुक्तानीमा पनि उल्लेख्य प्रगति भएको छ। नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई अग्रिम भुक्तानीसहित करिब ३ अर्ब २ करोड रुपैयाँ पुनर्बीमा दाबी भुक्तानी गरिसकेको छ। पुनर्बीमा कम्पनीका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीबाट परेको कूल २ हजार ८६२ वटा पुनर्बीमा दाबीको दाबी रकम करिब १६ अर्ब ६२ करोड रुपैयाँ रहेको छ।


