तरुण खबर
३ पुष २०८२, बिहीबार ११:३८
चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो पाँच महिनामा शेयर बजारमार्फत सरकारले ४ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। पुँजीगत लाभकरबापत मंसिर मसान्तसम्म सरकारको खातामा ४ अर्ब १ करोड ३१ लाख रुपैयाँ संकलन भएको छ।
यद्यपि, यो आम्दानी अघिल्लो वर्षको तुलनामा कम हो। गत आर्थिक वर्षको सोही अवधिमा सरकारले शेयर कारोबारबाट ९ अर्ब २० करोड २४ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो। यस आधारमा चालु वर्षमा पुँजीगत लाभकर ५६.३९ प्रतिशतले घटेको देखिन्छ।
मंसिर महिनामा मात्रै सरकारले पुँजीगत लाभकरबापत ६३ करोड ९८ लाख रुपैयाँ उठाएको छ। यो रकम गत वर्षको मंसिरमा संकलित १ अर्ब ४ करोड रुपैयाँको तुलनामा उल्लेख्य रूपमा कम हो।
शेयर बजारमा अपेक्षित उत्साह नदेखिनु कर संकलन घट्नुको मुख्य कारणका रूपमा देखिएको छ। गत साउन महिनामा ३ हजार २ विन्दुसम्म पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक हाल २५०० देखि २६०० विन्दुको आसपासमा सीमित छ।
बजारमा रौनक नआएसँगै दैनिक कारोबार रकम पनि बढ्न सकेको छैन। त्यसका कारण शेयर बजारबाट नाफा कमाउने लगानीकर्ताको संख्या घट्दै गएको छ, जसको प्रत्यक्ष असर सरकारलाई प्राप्त हुने पुँजीगत लाभकरमा परेको छ।


